काठमाडौँ । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन् । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए ।
पशुपतिनाथको दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन् । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराएका थिए ।
मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उनले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गरेकी छन् । मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरेका थिए । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आएकी थिइन् । शनिबार उनले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गरेकी थिइन् ।






