समिक्षा प्रस्तुति – दया कृष्ण राई – बेलायत।
केदार संकेत साहित्यका विभिन्न विधामा कलम चलाउछन । उनका अन्य विधाका प्रकाशित कृतिहरूलाई अलिकति पर सारेर भर्खरै प्रकाशित नविनतम कृति अन्तिम साँझ कथा संग्रह तर्फ नै केन्द्रीत रहेर संक्षिप्तमा समीक्षात्मक टिपोट गर्ने जमर्को गरेकोछु ।
यो नविनतम कृति भर्खरै हातमा परेकोछ । म जुनसुकै पुस्तक पनि आद्दोपान्त पढेपछि मात्र सामाजिक सन्जालमा सार्बजनिक गर्ने गर्दछु ।
पुस्तक प्राप्त हुनु बित्तिकै आवारण तस्विर राखेर गहिरो अध्ययन गर्दै गरेको अभिनय सहितको आफ्नो तस्विर राखेर विज्ञापन दिएर सामाजिक सन्जाल प्रदुषण गर्ने जस्तो चलनचल्तिबाट टाढा रहनु पर्दछ भन्ने मेरो वैयक्तिक मान्यता हो ।
पहिलो कथामा प्रवेश गर्नु बित्तिकै लेखक बसेको शहरको सेरोफेरोमा घुम्न पाइन्छ । फ्रेडको त्यो घरको छायाँ शीर्षकलाई प्रतीकात्मक रूपमा बेलायतमा रहेका नेपालीहरूको जनजीवनलाई कथ्यमा छर्लङ्ग उतारिएको छ । जुन विम्वले गोविन्दराज भट्टराईको उपन्यास सुकरातका पाइलाको झल्को दिने गर्दछ ।
सम्बन्धको जगेर्ना शीर्षकको कथा पनि अल्डरसट र फार्नब्रा तिरकै कथालाई समेटेको पाइन्छ । कथाका प्रोटागोनिस्ट पात्रहरूमा फिराधन (माइला) र कोजीको वास्तविक जीवन कथालाई उजागर गरेको पाइन्छ ।
माइलाको जीवनमा कोजीसँगको भेटहुनु अगावै अप्रत्याशित फुर्की हङकङवालीको साहयक भूमिकाले प्रवेश पाउछ र त्यो पानीको फोका फुटेजस्तै फ्याट्ट सम्बन्ध टुट्छ र कोजीसँगको सम्बन्ध अघि बढ्न थाल्छ ।
त्यो फुर्की हङकङवाली पात्रा भने मेरै आँखा अगाडी उनको प्रतिविम्ब ठ्याक्क उभिएर त्यो ग्रहण लागेको उनको पृष्ठभूमीलाई छोपेर पुर्णिमाको जून जस्तै अभिनय गर्दै शालीन तथा भद्र तरिकाले ‘म’ आफैसँग दोहोरो सम्बाद गरिरहेकी छिन जस्तै आभास गराउदछ ।
कथाकारले निकै चलाखीपूर्ण तरिकाले वास्तविकता र स्वैरकल्पनालाई सन्तुलन गरेर माइला र कोजी पात्रलाई बेलायतमा यथार्थ भूमीमा विचरण गराउछन भने नेपालमा भने स्वैरकाल्पनिक भूमी तिर विचरण गराउदै लेखक स्वयमले आफ्नो शैशवकाल विताएको गाउँ तिरका रैथाने बनाएर फनफन्ति घुमाइरहेको पाउन सकिन्छ जो कथा विधा र उपन्यास विधामा विम्व निर्माण गर्नेलाई मात्र यो तकनिकीमा भिजेका हुन्छन जसको छनक पाउन सक्छन ।
भन्दैमा पाठक मूर्ख हुन्छन भन्न खोजेको होइन तर केही प्रतिशत सामन्य पाठकलाई भने यस्ता विम्व निर्माणलाई सीधै बुझिदिने गर्छन ।
डा. राफेलको धन्दा शीर्षकको कथामा शिकारी मुखिया, डा. राफेल र सरिता प्रोटागोनिस्ट पात्रहरूको भूमिका रहेको यो कथाले एकैपटक दुइवटा विषयलाई लिएर पाठक सामु उत्रीन्छ ।
शिकारी मुखिया जो डायस्पोरिक लेखक हरूलाई मुर्गा बनाउन पाउदा मंगलग्रहमा अवतरण भए जस्तो हर्षोत्कर्ष चुम्छन । यो त डायस्पोरिक लेखक सबैले भोगेको तीतो यथार्थ हो । र डा. राफेल सामाजिक सन्जाल प्रयोग गरेर सरिताको कोमल मनको कमजोर पनालाई फाइदा उठाएर ठग्न सफल कुख्यात स्क्यामर हुन ।
डायस्पोरिक कथाकारले आफगानिस्तानबाट शिकारी मुखियालाई सामाजिक सन्जालमा सम्पर्क गरेर कथा पठाई सकेपश्चात जब शिकारी मुखियाले आद्दोपान्त पढिसक्छ र शिकार प्राप्त गरेको खुशीमा लेखनको प्रसंशा गर्दै कथा पनि टुंगिन्छ ।
कथाकारको यो उनको कथ्य बुनावटले कथामा निकै स्वादिलो चास्नी थपेकोछ । यो कथा अहिले नेपाली समाजले अत्याधिक भोगीरहेको पीडाको कथा हो । पीडितहरू जब ठगिन्छन अनि मात्र आँखा खुल्ने गर्दछ । यस कथाले भने धेरैलाई सचेत बनाएर सजगता अपनाउने बाटो देखाएकोछ ।
कथाकारले विभिन्न डायस्पोरिक कथा समेट्ने क्रममा गोर्खा कन्टिजेन्ट सिंगापुरको कथालाई पनि पस्किएका छन । यो कथा पनि सामाजिक सन्जालको विकृतिले झाङ्गिएको प्रेम कथाले पारिवारिक धरातल नै फाटेर चिरचिरा बनेको कथाले छाती नै चसक्क दुख्ने गर्छ ।
‘अन्तिम साँझ’ शीर्षक कथा, युद्ध कथा हो । यस कथालाई भने औपन्यासिक संरचनामा सरसर्ती बगेको पाइन्छ र म चाहिं यो कथालाई लघु उपन्यास भन्न रूचाउछु । यो कथा जातिय द्वन्द्वले चर्किएको बोजनिया हर्जगोभिनाको युद्ध कथा हो ।
युद्ध विभीषिकाले च्याप्टिएको निर्दोष सर्वसाधारण जनताहरूको पीडालाई यती मिहिन ढङ्गमा टिपोट गरेर पाठकलाई त्यहिं युद्ध भूमीमा समाहित गराएर महिला तथा बालबालिकाहरूको चित्कार र पुरूषहरूको मृत्यु त्रासदीमा पनि मौन मृत्यु स्विकार्यले थाहै नपाई छातिमा काँढा विजेसरी चसक्क चस्किन्छ सावनको भेलसरी आँखा रसाउन थाल्छन ।
‘क्याम्प फायर कि दिल फायर’ कथा नेपालको पनि पूर्वी क्षेत्रको जीरी, सुनाकोशी, तामाकोशी किनार तिरको त्यही जङ्गलहरूमा रातो च्याउको खोजीमा बनस्पती विज्ञानको अनुसन्धानमा तल्लीन रहदा जङ्गली जनावारको आक्रमणको त्रासलाई दुरुस्त उतारिएकोछ । जसले नेपाल जैविक विविधताले सम्पन्न देश भनेर परिचय दिन सफल देखिन्छ भने कलेज अध्ययनरत विद्यार्थीहरूको फ्रायडवादी मनोविज्ञानलाई पनि चित्रण गरेको पाइन्छ ।
अन्तमा एउटा Science fiction story कोबारे टिप्पणी गर्न छुट्ट्याउनै नहुने भएकोले यो अन्तरिक्ष यात्रा शीर्षकको कथाबारे टिपोट गर्न लागेकोछु, सबै कथाको विस्तृत विश्लेषण गर्दा समीक्षाले यो पुस्तक कै आकार ग्रहण गर्ने भएकोले बाँकी कथाहरू पाठकलाई नै अध्ययन गर्ने जिम्मेवारी सुम्पिदै समीक्षाको अन्त्य तिर डोर्याउन चाहन्छु ।
शंकर लामिछानेको Science fiction कथा पढेपछि लामो समय पश्चात केदार संकेतको Science fiction कथा पढ्न पाएँ ।
Science fiction story मलाई मनपर्ने विधा मध्य एक हो । केदार संकेतको यो कथाले मलाई धेरै समय पश्चातको Science fiction कथाको वुभुक्षालाई मेटाउने अवसर जुर्याइदियो ।
fiction story भन्दैमा विज्ञान प्रति सामन्य ज्ञान बिना नै हावादारी कथा लेखेर पनि हुँदैन । जसमा सबै तालमेल मिलाएर यथार्थताको धरातलमा टेकेर स्वैरकाल्पनिक उडान भर्नु त्यती सहज कुरा होईन ।
कथाकारले जसरि कान्छी र गणेशको बीच ठमेलको अप्रत्याशित भेटपछिको अन्योन्याश्रित सम्बन्ध प्रेमीलता तिर ढल्किदै जानु र गणेशकी आमाको पर्देशमा रहेको छोरा माथी मन केन्द्रीत भइरहनु त्यहिं माथी अन्तरिक्ष यात्री जस्तो जोखिमपूर्ण कार्यमा लागेकोले चिन्ताको गह्रौं भारीले थिचिरहनु ।
यसरि छोटो कथा भित्र सबै कुराको सन्तुलित समिश्रणले भरिएको छ । कथाको बिटमार्ने क्रममा त झनै गणेश र कान्छी दुवैले अमेरिका छाडेर सधैंको लागी नेपाल फर्केर तरकारी पसल खोलेर जीविकोपार्जन आरम्भ गर्नुले देश भक्तिको रुझानले लछप्पै भिजाउने गर्छ ।
तरकारी पसलमा गणेशको अन्तरिक्ष यात्राको अनुभव सुन्न आउनेहरूको लर्को लागेको भींडले कथाको रौनकतामा आफै पात्रबनेर गर्वले छाती फुलिएको अनुभूत गर्न सकिन्छ । र वा….क्या गजबको कथा भनेर अचानक मुखबाट शब्द प्रस्फुटन भएको थाहै हुँदैन ।
समीक्षाको बीटमार्छु भन्दाभन्दै एकपछि अर्को कथाहरू सामाजिक जागरणको मूल मुद्दाहरूको भारिमा जसको समाधानको लागी तोक्मा अड्याएर खुइया सुशेली मारेर कड्के नजर लगाएपछि समीक्षा नगरि धरै पाइएन ।
सुनकोशीको कथाहरू शीर्षकको कथालाई समीक्षाको अन्तिम नै हो भन्ने बाचाका साथ कथाका प्रमुख पात्र देम्बाकाजीको समाजिक जागरणको अग्रणी भूमिकाले पाठकको मस्तिष्कलाई पनि गतिलो झड्का प्रदान गर्दछ ।
कोइँच किरातहरूको संस्कृती जेनजी पीढिलाई पुस्तान्तरण गर्न जति कठिन छ हिन्दू संस्कृतिमा जकडिएका देम्बाकाजीका समकालिन पुस्तालाई सचेत गराउन पनि त्यति नै कठिन छ ।
भूमे पुजा, स्याँदार पिदार जस्ता मौलिक संस्कृती र परम्परा समेटिएको भव्य समारोहमा पल्लोटोले रामदास सुनुवार (साइँलो) पात्रले आफ्नो घरमा सात ब्राह्मन पाठ पढाएर सप्ताह पुराण लगाउने निम्तो बाँड्न थाल्छन । त्यसपछि भने देम्बाकाजी मुर्मुरिदै मुखै छाडेर डाइलग बोल्छन आफुले ताक्यो मुढो बन्चरोले ताक्छ घुँडो स्याँठाहरू ।
यही प्रवृतिले नै मूलवासीहरूको भाषा, संस्कृती र परम्पराहरू लोपोन्मूख अवस्थामा रहेकोबारे यो कथाले तड्कारो रूपमा सचेत गराएकोछ ।
अन्त्यमा विश्वविख्यात लेखकहरूको पुस्तकमा पनि केही अपूर्णता हुन्छ नै त्यहिं अनुरूप सवल तथा दुर्वल पक्षकोबारे केहि पनि मेरो टिप्पणी नरहेको जनाउन चाहन्छु । मेरो सिद्धान्त अनुरूप आफ्नो पुस्तकको लेखकको रूपमा मात्र नभई पाठकको रूपमा पनि उभिएर आत्मसमीक्षाका साथ भविष्यमा अर्को पुस्तक प्रकाशन गर्न परेमा के कस्ता सुधार गर्नुपर्दछ भन्ने आफै सुसूचित हुनुपर्दछ ।






