विकास : शब्द एक बुझाइ अनेक

SHARE:

  • डा. मिलन ज्ञवाली

नेपालको मात्र होइन विश्वकै बदलिँदो राजनीतिक परिवेशमा, विकास भन्ने शब्दले व्यापकता पाएको छ । प्रत्येक १०० अंग्रेजी शब्द लेख्दा वा बोल्दा दुई पटक विकास दोहोरिएर आउँछ । यस अर्थमा विकास भन्ने शब्द कसैको लागि पनि नयाँ होला भनेर अनुमान गर्नु पर्दैन । विकास शब्दको लोकप्रियताका साथमा यसको प्रयोग पनि व्यापक र विविध प्रसङ्गमा भएको पाइन्छ ।

बुझाइको आधारमा भन्ने हो भने विकासलाई फरक तरिकाले बुझिएको पाइन्छ । जसरी यसको प्रयोग सामाजिक, आर्थिक, भौगोलिक, व्यवसायिक, व्यवहारिक तथा व्यक्तिगत प्रसङ्गमा प्रयोग भएको छ, त्यसैगरी यसको अर्थ पनि फरक फरक तरिकाले हुँदै आएको छ । अर्थविद्को लागि यसले जुन अर्थ दिन्छ त्यो अर्थ व्यवसायीको लागि नलाग्न सक्छ । त्यसै गरेर सामाजिक कार्यकर्ता र सर्वसाधारण व्यक्तिले फरक फरक तरिकाले बुझेका हुन सक्छन् ।

विकासको अर्थ तथा बुझाइ फरक भएको हुनाले यसको अर्थ स्पष्ट गर्न जमर्को गरेको छु । विकास भन्ने शब्द बुझ्नु भन्दा पहिले अरू दुईवटा शब्दहरू बुझ्न जरूरी छ । विकाससँगै आउने ती शब्दहरू हुन् — सफलता, र वृद्धि । जबसम्म यी शब्दहरूको अर्थ बुझिँदैन तबसम्म विकासको अर्थ बुझ्न असम्भवप्राय जस्तो लाग्छ ।

साधारण शब्दमा सफलता भनेको लक्ष्य प्राप्ति हो । सफलता योजना तथा उद्देश्यसँग जोडिएको हुन्छ । तपाईंले योजना तर्जुमा गर्ने क्रममा लक्ष्य राख्नुहुन्छ । यदि तपाईंले त्यो लक्ष्य पूरा गर्नुभयो भने तपाईं सफल हुनुहुन्छ । अन्यथा असफल । उदाहरणका लागि, तपाईंले एक वर्षमा १०० कि.मि. कालोपत्रे बाटो बनाउने लक्ष्य राख्नुभएको छ । यदि तपाईंले भनेकै समयमा १०० कि.मि. वा बढी बाटो बनाउन सक्नुभयो भने तपाईं सफल हुनुहुन्छ । अन्यथा, तपाईं असफल हुनुहुन्छ ।

विकाससँग मिल्ने अर्को शब्द हो वृद्धि । सरल भाषामा भन्नुपर्दा वृद्धि भनेको संख्यामा सकारात्मक परिवर्तन हुनु हो । वृद्धिलाई संख्याको आधारमा नाप्न सकिन्छ । उदाहरणका लागि, गत वर्ष १०० कि.मि. कालोपत्रे बाटो थियो र यस वर्ष ११० कि.मि. छ भने । यहाँ १० कि.मि. बाटो वृद्धि भएको छ । बाटो निर्माण विकासको लागि पूर्वाधार अवश्य हुन सक्छ तर आफैमा विकास भने होइन ।

त्यसै गरेर विकासको अर्थ हुन्छ गुणस्तरमा सकारात्मक परिवर्तन । यस मान्यतामा सफलता र वृद्धि जस्तो सरल तरिकाले गुणस्तरलाई मापन गर्न सकिँदैन । गुणस्तरले धेरै ठूलो क्षेत्र ओगटेको हुन्छ जस्तो कि रोजगारी, कामको वातावरण, सामाजिक सन्तुलन, जीवनशैली, चेतना, समावेशिता, समानता र सन्तुष्टि । माथिको उदाहरणलाई हेर्दा त्यो ११० कि.मि. बाटोको कारणले गर्दा भएको सकारात्मक परिवर्तनलाई लिन सकिन्छ । बाटोको कारणले समाजमा, त्यहाँका व्यक्तिहरूमा र त्यहाँको वातावरणमा सकारात्मक परिवर्तन हुनु विकास हो । एउटा भुल्नै नहुने कुरा के हो भने बाटो बनिँदैमा विकास हुन्छ भन्ने कुनै जरुरी छैन । मोटरबाटो बनेपछि मानिसहरू बसमा यात्रा गर्नु वा बसमा यात्रा गर्न चाहनु स्वाभाविकै हो । खाद्यान्न उत्पादन बढाई बिक्री गरेर यदि बसको भाडा तिर्ने हैसियत भएको छ भने त्यसलाई विकास मान्न सकिन्छ । तर बसभाडा तिर्नका लागि जग्गा बेच्नुपरेको हो भने त्यसलाई विकास भन्न मिल्दैन । त्यसैले विकासलाई त्यहाँको सन्दर्भमा हेर्नुपर्छ ।

आर्थिक कारोबार हुनु राम्रो भए पनि सामाजिक र भौगोलिक दृष्टिकोणले सबै परिवर्तनलाई सकारात्मक भन्न सकिँदैन । विकास कस्तो हुनुपर्छ भन्ने बारेमा छुट्टाछुट्टै अवधारणाहरू छन् । सफलता सजिलै र छोटो समयमा नाप्न सकिन्छ । वृद्धि तुरुन्तै हुन सक्छ । तर गुणस्तरमा सकारात्मक परिवर्तन हुन समय लाग्छ र यसलाई मापन गर्न पनि सजिलो छैन ।

यस अर्थमा विकासलाई मुख्यतया दुई तरिकाले हेर्न सकिन्छ । पहिलो हो क्रमिक विकास, जुन आफ्नै गतिमा र समयको गतिसँगै हुँदै जान्छ । जस्तै कि गोबरमा केही दिनपछि आफै किराहरू जन्मिन्छन् । यो प्राकृतिक वातावरणले गर्दा हुने विकास हो । बाटोको किनारमा बस्ती बस्नु र बस्ती बसेको ठाउँमा पसलहरू खुल्नु — यी पनि त्यस्तै उदाहरणहरू हुन् ।

दोस्रो तरिकाको विकास क्रान्तिकारी खालको हुन्छ । प्राकृतिक तथा क्रमिक विकास भन्दा द्रुतगतिमा हुने विकास । धेरैजसो मानिसहरूले चाहने विकास यस्तै हो । यसको अर्थ प्राकृतिक प्रक्रियालाई घटाएर छोटो समयमा विकास गर्नु हो । यदि मानिसको चेतना, गुणस्तर र सोचाइमा छिटो परिवर्तन ल्याउन सकियो भने त्यो क्रान्तिकारी विकास हुन सक्छ ।

पूर्वाधार र वृद्धि अरूले गरिदिएर पनि हुन सक्छ । तर विकास धेरैजसो अवस्थामा व्यक्ति स्वयंले गर्नुपर्ने हुन्छ । यस अर्थमा चाहे देशको होस् वा व्यक्तिको, विकास आन्तरिक हुन्छ र आफैले गर्नुपर्ने हुन्छ । सरकारले बाटो बनाउन वा विद्यालय बनाउन सक्छ तर बाटो र विद्यालय प्रयोग गरेर व्यक्तिको मानसिक विकास आफैले गर्नुपर्ने हुन्छ । यस अर्थमा वृद्धि बाह्यमुखी हुन्छ भने विकास अन्तर्मुखी हुने गर्दछ ।

सामान्यतया जनताहरू चाहन्छन् कि देशको असिमित विकास असिमित समयसम्म भइरहेको होस् । देशको आर्थिक विकास कति र कसरी गर्ने भन्ने कुरा त्यो देशमा भएको स्रोत र साधनमा निर्भर गर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!