एटा संवाददाता
फार्नबोरो । पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्को बुधबार १२ डिसेम्बरका दिन फार्नबोरोको नर्थ क्याम्पमा औपचारिक रुपमा नयाँ कार्यालय उद्घाटन गरिएको छ । सो कार्यालयलाई रसमोर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसनलगायत अतिथिले रीवन काटी समुद्घाटन गरेका थिए ।
स्थानीय काउन्सिलका प्रतिनिधि, नेपाली संघसंस्थाका अग्रज र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको उद्घाटन कार्यक्रममा पीपल ग्रुपकी इभेन्ट कोर्डिनेटर शान्ति लिम्बूले प्रमुख अतिथि मेयर मास्टरसनलगायत सबैलाई स्वागत गर्दै कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
सन् २०१६ साल मार्चदेखि फार्नबरोको नर्थ क्याम्पबाट व्यवसाय सुरु गरेको पीपल ग्रुपले आस्फोर्ड र एनडोबरमा शाखा स्थापना गरिसकिएको र आउने जनवरी २०१९ देखि स्वीन्डनमा अर्को शाखा थप्न लागिएको ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङले जानकारी दिएका छन् । साथै, उनले जहाँ नेपालीहरुको बसाई बढी छ, त्यहाँ आपूmहरुले सेवा दिँदै आइरहेको बताए ।
त्यस्तै, उनले उद्घाटन समारोहका प्रमुख अतिथि स्थानीय मेयर स्टीभ मास्टरसनलगायत अतिथिलाई स्वागत गर्दै पीपलको अर्थ प्रस्ट्याएका थिए । बुद्धले पीपलकै बोटमुनि बसेर बुद्धत्व प्राप्त गरेको, हिन्दू संस्कारमा पीपलको विशेष महत्व रहेको र बटुवाहरुले थकाई मार्न पीपलकै बोट भएको चौतारीमा बिसाउने प्रचलन नेपालमा भएको जनाए । त्यस्तै, उनले जसरी पीपलको बोटले बटुवाको थकानमा शितल प्रदान गरिरहेको छ, त्यसैगरी पीपल मोर्गेज र पीपल स्टेट एजेन्टस्ले पनि ग्राहकहरुको उद्देश्य परिपूर्ति गर्नका लागि गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको जनाए । साथै, उनले कम्पनीमा १८ जना स्टाफ कार्यरत रहेको बताउँदै ग्राहकहरुबीच छिट्टै वेल्थ म्यानेजमेन्ट सेवासमेत ल्याउन लागेको जानकारी दिए ।
सो अवसरमा रसमोर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसनले नर्थ क्याम्पमा प्रधान कार्यालय स्थापना गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिए ।
सो ग्रुपले स्थापनाकालदेखि नै परोपकारी क्षेत्रमा समेत योगदान गर्दै आएको छ । ग्रपको दोस्रो वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमबाट संकलित दुई हजार ३६० पाउन्ड गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग गरिसकेको छ । त्यस्तै, आगामी मार्चमा आयोजना गर्न लागिएको तेस्रो वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमबाट कम्तीमा दुई हजार ५०० पाउन्ड संकलन गरी नेपालमा चेलीबेटी बेचबिखनविरुद्ध काम गर्दै आएको ‘आशा नेपाल’ नामक संस्थालाई आर्थिक सहयोग गरिने ग्रुपका डाईरेक्टर गुरुङले जनाए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, रसमुर बरो काउन्सिलका डिपुटी लिडर काउन्सिलर केन मुसचाम्पग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहामगर, काउन्सिलर आलेक्स क्रफोर्ड, पिटर क्रेरर, लिज क्रोप्स, बर्वरा हर्सट्, क्युओजिएलआरका गोर्खा मेजर चक्रबहादुर खत्री, गोर्खा इन्फरमेशन म्यानेजमेन्टका निर्देशक पूर्ण गुरुङ, गोर्खा मिडियाका मिलन तमु, तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष पूर्ण गुरुङ, बेसपोक इन्स्योरेन्सका किम डेविज, मिसाली रेन्डरर्स र जेर्मी पेरीनको विशेष उपस्थिति रहेको थियो ।
यसअघि पनि पीपल ग्रुपको नर्थ क्याम्पमै कार्यालय रहेको थियो । सोही कार्यालयबाट नजिकै पहिला लोयड्स बैंक रहेको भवनमा कार्यालय सारिएको हो ।






