लण्डन । ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले यही ६ जुनमा ‘भिक्टोरिया डे’ मनाउँदैछ ।
रानी भिक्टोरियाको सम्झनामा विगतमा झैं यो वर्ष शनिबार ६ जुनमा अल्डरसटमा ‘भिक्टोरिया डे’ मनाउन लागिएको हो । कार्यक्रम संयोजक एवं जीआरएनसीका उपाध्यक्ष डा विशाल गुरुङले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए ।
सोमबार१ जुनमा बसेको जुम मिटिङमा जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबो र कार्यक्रम संयोजक डा विशाल गुरुङले कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी गराएका थिए । बैठकमा विभिन्न जिम्मेवारी पाएका कार्यसमितिका पदाधिकारी र सदस्यहरुले कार्यप्रगति विवरण सुनाएका जीआरएनसीले जनाएको छ ।
कार्निभलमा नेपाली मूलको विभिन्न मौलिक संस्कार, संस्कृति र पहिचान झल्काउने लुगा, गरगहना, बाजा र नृत्यसहित संघ सस्थाहरु सहभागी हुँदैछन् । कार्यक्रम बिहान १० देखि दिउँसो ४ बजेसम्म हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा सहभागी हुन बेलायतवासी संघसंस्था र सबै नागरिकलाई जीआरएनसी यूकेकी अध्यक्ष माबोले अनुरोध गरेकी छन् ।






