लन्डन । स्याङ्जा स्रष्टा सदनको आयोजनामा जेठ २३ गते आँधीखोला गाउँपालिकामा हुन लागेको ‘आँधीखोला सांस्कृतिक महोत्सव–२०८३’ सफल बनाउन स्याङ्जा सहयोग समाज (आईसीसी) का सल्लाहकार तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका संरक्षक डेबिड गुरुङले आग्रह गरेका छन्।
महोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै गुरुङले स्याङ्जाका १०० भन्दा बढी प्रतिभाशाली कलाकार, स्रष्टा तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिताले आँधीखोलाको सांस्कृतिक गरिमालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले महोत्सवलाई मनोरञ्जनको माध्यम मात्र नभई कला, संस्कृति, पहिचान र स्रष्टाहरूको सम्मान गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्। साथै आँधीखोला गाउँपालिका, जनप्रतिनिधि, संघसंस्था तथा स्थानीय बासिन्दाहरूलाई कार्यक्रमलाई भव्य र सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।
गुरुङले महोत्सवले आँधीखोलाको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै दिनको कार्यक्रममा सहभागी हुन नसक्ने स्थानीयवासीलाई बेलुकाको सांस्कृतिक कार्यक्रममा सहभागी भई कलाकारहरूसँग रमाइलो गर्न अनुरोध गरेका छन्।
विदेशमा रहेर पनि महोत्सवको खबरले आफूलाई गाउँघर र संस्कृतिप्रति अझ नजिक बनाएको अनुभूति भएको उल्लेख गर्दै उनले कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि आफ्नो मन आँधीखोलामै रहने बताएका छन्।
शुभकामना सन्देशमार्फत गुरुङले महोत्सव सफल बनाउन खटिएका स्याङ्जा स्रष्टा सदनका महासचिव घनश्याम रिजालसहित सम्पूर्ण आयोजक टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै महोत्सव भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्।






