लन्डन । बेलायतमा आगामी २७ जुलाईमा चौंथो मिडल्यान्ड नेपाली मेला नटिङहममा हुने भएको छ ।
नेपाली समाज नटिङहमको आयोजनामा नेपाली मेला हुन लागेको हो । मिडल्यान्डस्थित करिब एक दर्जन नेपाली संघसंस्थाको सहकार्यमा मेला नटिङहमको मेलवर्न पार्कमा हुनेछ । मेला बिहान १० देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ ।
उक्त अवसरमा नेपाली कला, संस्कृति, भाषा, धर्म झल्किने थुप्रै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। मेलामा स्थानीय कलाकारहरुका साथै नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारसम्मले सांगीतिक एवम् सांस्कृतिक प्रस्तुति दिनेछन्।
मेलामा बेलायतभरबाट आउने नेपाली खेलाडीहरुको सहभागितामा एक भलिबल प्रतियोगिता समेत सञ्चालन हुनेछ। मेलामा सहभागीहरुमाझ लुठो तानातान, कबड्डी, घैंटो फोर्ने खेल, पत्नी बोक्ने दौडजस्ता थुप्रै मनोरञ्जनात्मक खेल पनि खेलाइनेछ । साथमा, आकषृक पुरस्कारहरुसहितको राफल ड्र पनि गरिनेछ। मेलामा सबैलाई प्रवेश निशुल्क छ ।






