एभरेष्ट टाईम्स संवाददाता
लन्डन । भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपाल सरकारबीचको सोमबार भएको उच्चस्तरीय वार्ता पुन: जुलाईमा बस्ने गरी सकिएको छ ।
गोर्खा प्रतिनिधिसहित नेपाली दूतावास लन्डनमा सोमबार ८ जुन २०२६ मा भएको वार्तामा दुवै देशका मन्त्रीलगायतले आ-आफ्ना विषय राखे पनि टुंगोमा नपुगेको हो । वार्तामा नेपालका तर्फबाट भर्चुअलमाध्यमबाट जोडिएका परराष्ट्रमन्त्री शिशिर खनालले गोर्खाका विषय दरो ढंगले राखेका थिए ।
त्यस्तै जीटेनका सदस्यहरुले पनि अफोडेबेल सोलुसनलगायतका विषयलाई जोडतोडले उठाएका वार्तामा सहभागी गोर्खा अनशनकर्ता धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार अफोडेबेल सोलुसनलाई गोर्खा प्रतिनिधिले मूलमुद्दा बनाए पनि बेलायत सरकारका प्रतिनिधिले त्यसलाई वेलफेयर र एडमिनतिर लाने प्रस्ताव गरेका थिए ।
बेलायती रक्षा मन्त्रालयको प्रस्तावलाई जीटेनका मेम्बरहरुले अस्वीकार गरेका थिए । सोमबारको बैठकमा बेलायती रक्षामन्त्री जोन हिली भौतिक रुपमै उपस्थित हुने भनिए पनि पछि जुमबाट जोडिएका थिए । नेपालका परराष्ट्रमन्त्री र गोर्खा प्रतिनिधिको कुरा सुनेका रक्षामन्त्रीले आफ्नो धारणा राख्ने बेला प्राविधिक समस्या आएको थियो । त्यसपछि आगामी जुलाई पहिलो वा दोस्रो हप्तासम्म रक्षामन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्ने गरी सोमबारको वार्ता टुंगिएको अभियन्ता धनबहादुर गुरुङले जानकारी दिए ।
सोमबारको वार्तामा मेजर जनरल सामूएल हम्फ्रिस, बेलायती सांसद एलेक्स बेकरलगायत थिए । सांसद बेकरले वार्ता सकारात्मक भएको जनाउँदै जुलाईमा फेरि मिटिङ हुने बताइन् । उनले आफूले यस विषयलाई संसद्मा फेरि पनि उठाउने जानकारी दिइन् ।
बेलायतको समय अनुसार दिउँसो २ बजे सुरु बैठक झन्डै ३ घण्टा चलेको थियो । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी,सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह पनि सहभागी थिए ।
जीटेनका सदस्यहरु बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी, जीपीजीतर्फबाट मेजर उदयबहादुर गुरुङ एमबीई, गेसोका सभापति कृष्णकुमार राई र धर्म तमांग,गोर्खा सत्याग्रह संघर्ष समितिबाट कृष्णबहादुर राई, नेसाका केशबहादुर गुरुङ, आमरण अनशनको तर्फबाट अभियन्ता पुष्पा राना घले, धनबहादुर गुरुङ र ज्ञानबहादुर राई वार्तामा सहभागी छन् ।
बेलायत सरकारलाई अनुरोध गरेका छन्।






