लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका विभिन्न स्थानहरूमा अशान्तिका घटनाहरू भइरहँदा अत्यन्त सतर्क रहन बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको छ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उत्तरी आयरल्याण्डलगायत युकेका केही क्षेत्रमा आप्रवासनसम्बन्धी विषयसँग जोडिएका तनाव तथा अशान्तिका घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा बेलायतमा बसोबास, रोजगारी तथा व्यवसाय गरिरहेका सम्पूर्ण नेपालीलाई अत्यन्त सतर्क रहन आग्रह गरेका छन् ।
“कुनै पनि अफवाहमा विश्वास नगरी स्थानीय काउन्सिल, सुरक्षा निकाय तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन र आवश्यक परेमा प्रहरी तथा सम्बन्धित काउन्सिलसंग सम्पर्क गरी सहयोग लिनु हुन अनुरोध छ। साथै, आफ्नो परिवार, समुदाय र विशेषगरी विद्यार्थी तथा नवआगन्तुक नेपालीहरूलाई पनि परिस्थितिबारे सचेत र जानकारी राख्न आग्रह गर्दछु,” पुडासैनीले भने ।
अध्यक्ष पुडासैनीले बेलायतस्थित सबै नेपालीले शान्ति, आपसी सद्भाव, कानुनको सम्मान र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै कुनै पनि उत्तेजनात्मक गतिविधिबाट टाढा रहनु आवश्यक रहेको बताए । “नेपाली समुदायले सधैंझैँ एकता, संयम र पारस्परिक सहयोगको भावना कायम राख्नेछ भन्ने विश्वास व्यक्त गर्दछु। आफु, परिवार र समुदायमा सुरक्षित रहन आवश्यक सावधानी अपनाउन पनि पुनः अनुरोध गर्दछु,”विज्ञप्तिमा भनिएको छ।
गत सोमबार राती उत्तरी बेल्फास्टमा एक जना सुडानी पुरुषले एकजना स्थानीय व्यक्तिमाथि सांघातिक हमला गरे पछि उत्तरी आयरल्याण्डमा आप्रवासी समुदायलक्षित हमला तथा आगजनीका घटनाहरु भएका समाचारहरु आइ रहंदा एनआरएनए यूकेले बेलायतस्थित नेपाली समुदायलाई अत्यंत सतर्क रहन अपिल गरेको हो ।







