लन्डन । नेपाली दूतावास लन्डनमा नेपालका अटिस्टिक बालबालिकाको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ ।
नेप्लिज वुमन एसोसिएसन यूकेले शुक्रबार १२ जुन २०२६ मा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालमा अटिजम भएका बालबालिकाको सहयोगका लागि एसोसिएसनले गरेको कार्य सराहनीय भएको बताए ।
एसोसिएसनकी संरक्षक माया भुसालले अटिस्टिक व्यक्तिहरुलाई घरपरिवार र समाजबाट उचित रेखदेख र माया आवश्यक रहेको औंल्याउँदै एसोसिएसनले यस क्षेत्रमा निरन्तर गरिरहेको च्यारिटी प्रशंसनीय भएको बताइन् ।
कार्यक्रममा सहभागी अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले अटिस्टिक बालबालिकाका लागि संस्थाले गरिरहेको कामबारे जानकारी दिएकी थिइन् ।
एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले अटिजम केयर नेपाल सोसाइटीमार्फत अटिस्टिक बालबालिकालाई आर्थिक सहयोग गरिने जनाइन् ।

तस्बिर सौजन्य : शिव भण्डारी






