लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले स्विन्डन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
दूतावासले जारी गरेको सूचनाअनुसार यही २८ जुन २०२६ (आइतबार) स्विन्डनमा शिविर सञ्चालन गरी राहदानी नवीकरण, पर्यटक भिसा तथा अन्य कन्सुलर सेवा प्रदान गरिनेछ ।
शिविर बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म स्विन्डनस्थित बुकहर्स्ट कम्युनिटी सेन्टरमा सञ्चालन हुनेछ। दूतावासले सम्बन्धित सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित भई सेवाको लाभ लिन अनुरोध गरेको छ।
राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीले अनलाइन आवेदन फारम अनिवार्य रूपमा भरिसकेर प्रिन्टसहित उपस्थित हुनुपर्नेछ। साथै नेपाली नागरिकता, पुरानो राहदानी तथा अन्य आवश्यक प्रमाणपत्रहरू साथमा ल्याउन दूतावासले जनाएको छ।
शिविर सम्बन्धी थप जानकारीका लागि स्थानीय समन्वयकर्ता ज्ञानबहादुर गुरुङमार्फत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। स्विन्डन र आसपास क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई लन्डनसम्म पुग्नुपर्ने झन्झट कम गर्न दूतावासले समय–समयमा यस्ता घुम्ती सेवा सञ्चालन गर्दै आएको छ।






