चारधाम यात्रा – चौथो दिन

SHARE:

आज (मंगलबार)बिहानको उर्दी थियो– ८ बजे नास्ता, ९ बजे प्रस्थान। तर हाम्रो टोलीलाई अहिले यति त थाहा भइसकेको छ यो समयतालिका भगवानको इच्छा जस्तै हो, विश्वास गर्न मिल्ने तर ठ्याक्कै कहिले पूरा हुन्छ भन्न गाह्रो! त्यसैले अब कसैले हतार गर्दैन, बरु ढिलाइलाई पनि यात्राकै एउटा संस्कार मानेर मुस्कुराउँदै पर्खिन सिकिसकेका छौँ।

आजको गन्तव्य उत्तरकाशी। करिब ६ घण्टाको यात्रामा शिव गुफा, गंगनानी हुँदै विश्वनाथ बाबाको दर्शन गर्ने योजना छ। बिहानको आलु पराठा, टोस्ट, चिया र कफीले शरीरलाई तातो बनायो, तर हिजो यमुनोत्रीको करिब १४ किलोमिटर उकालो–ओरालोले खुट्टाले भने अझै “आज अलि बिस्तारै हिँडौँ है!” भनिरहेका छन्।

धार्मिक यात्रा भनेको पाँचतारे छुट्टी होइन भन्ने कुरा यहाँ आएपछि झन् राम्रोसँग बुझिँदो रहेछ। कहिले समय मिलाउन गाह्रो, कहिले सबैको चाहना मिलाउन गाह्रो। ठूलो समूहमा कार्यक्रम मिलाउने संयोजकहरू कहिले नरम, कहिले गरम हुनुपर्ने रहेछ। नेतृत्व भनेको सधैँ अगाडि हिँड्नु मात्र होइन, कहिले आफ्ना कुरा स्पष्ट भन्नु, कहिले अरूका कुरा धैर्यसँग सुन्नु पनि रहेछ। अन्ततः सबैलाई एउटै लयमा अघि बढाउन सकियो भने त्यो नै नेतृत्वको असली परीक्षा हो।

तीन दिन एउटै बस, एउटै होटल र एउटै यात्रामा बिताएपछि सबैका बानी–व्यवहार पनि विस्तारै खुल्दै जान्छन्। कोही समयका एकदम पाबन्द, कोही “अब त आउँदैछु” भन्नु भनेको अझै १५ मिनेट बाँकी भन्ने अर्थमा बुझ्ने। तर यिनै फरक स्वभावहरूले नै यात्रालाई अझ रमाइलो बनाउँछन्।

हाम्रो गाइड सुहांसुजी पनि आज निकै फ्रेश देखिनुहुन्छ। दुई रातको होटल बसाइ पनि निकै सन्तोषजनक रह्यो। हिजोको कठिन पदयात्रापछि त ओछ्यानले स्वर्गकै अनुभूति गरायो। तर मेरो अर्को प्रतिभा भने बिहान ४ बजेपछि सुरु भयो—निद्रा हरायो, र रुघासँग मिलेर यस्तो “घारघुर सङ्गीत” प्रस्तुत गरिएछ कि छिमेकी कोठाका साथीहरूले निःशुल्क डोल्बी सराउन्ड अनुभव गर्नुभयो होला! यस अवसरमा उहाँहरूसँग क्षमायाचना पनि।

हाम्रो टोलीकी ६७ वर्षीया विद्यालक्ष्मी गुरुङ दिदीको ऊर्जा अनि योगेन्द्र दाईको हौसला भने साँच्चै प्रेरणादायी छ। हिजोको कठिन यात्रामा उहाँलाई देखेर थकानभन्दा हौसला बढी आयो। उमेर त नागरिकतामा लेखिने संख्या मात्रै रहेछ, मन जवान भयो भने पाइला आफैँ अगाडि बढ्दा रहेछन्।

बिहान नास्तापछि भारतका केही सनातन तीर्थस्थलमा भेटिने पण्डाहरूको विषयमा पनि केही मीठा–नमीठा अनुभव सुन्यौँ। सबैलाई एउटै डोकोमा हालेर मूल्याङ्कन गर्नु अन्याय हुन्छ। धेरैजना अत्यन्त सहयोगी, ज्ञानवान् र सेवाभावी हुनुहुन्छ, तर केहीको व्यवहारले यात्रुको श्रद्धाभन्दा दक्षिणातिर बढी ध्यान दिएको अनुभूति पनि गराउँछ। त्यसैले तीर्थमा भगवानप्रति श्रद्धा राख्ने, तर आफ्ना निर्णयमा विवेक पनि साथमै बोकेर हिँड्ने रहेछ।

यात्राले सिकाइरहेको एउटा सुन्दर पाठ यही हो गन्तव्यले मात्र होइन, सँगै हिँड्ने मानिसहरू, बाटोका हाँसोहरू, साना असहजताहरू, घारघुरका रातहरू र समयभन्दा ढिलो छुट्ने बसहरूले पनि जीवनभर सम्झिने कथा बनाइदिन्छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!