लन्डन । बेलायत संसारको अति विकसित मुलुकमा पर्दछ, तर त्यो देशमा वर्षेनी ६०० जना घरबारविहीनहरुको चिसो, ड्रग्स, आत्महत्याको कारण मृत्यु हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, हालै बीबीसीले समाचारमा जनाएअनुसार ५ वर्षभित्र इंगल्यान्ड र वेल्समा मात्रै २ हजार ६२७ बेलायती घरबारविहीनहरुको असमयमै मृत्यु भएको अभिलेखमा देखिएको छ ।
सो समाचार प्रसारण भएकै दिन बेलायतमा बसोबास गर्ने नेपालीले स्थानीय घरबारविहीनहरुका लागि खाना र न्यानो कपडा व्यवस्था गर्न एक च्यारिटी कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको छ । आयोजक बेलायतस्थित बेजिंगस्टकमा बसोबास गर्ने समाजसेवी शिवजी श्रेष्ठले आफ्नो व्यावसायिक संस्थामा आयोजित च्यारिटी कार्यक्रमबाट उठेको रकमबाट क्याम्रोज डे सेन्टर र नाइट लाइट विन्टर सेल्टर भनी संस्थामार्फत ती असहाय घरबारविहीनहरुलाई अत्यावश्यक वस्तुहरुको व्यवस्था गर्ने बताए । सो अवसरमा स्थानीय बेजिंगस्टक एण्ड डिन काउन्सिलका मेयर सोन केटिंगले एउटा नेपालीले बेलायतमा रहेका बेलायती असहायहरुको लागि यस किसिमको कार्यक्रम गर्नु सह्रानीय कार्य हो, नेपाली हृदयको सम्मान गर्छु भन्दै रकम संकलनको लागि लिलाम बढाबढ गर्न आफ्ना नातिनीले आफूलाई दिएको उपहार प्रदान गरेको थियो । जसको लिलाम बढाबढबाट राम्रो रकम संकलन भएको थियो ।
त्यसैगरी स्थानीय लेबोर पार्टीका अध्यक्ष तथा काउन्सिलर किम टेलरले बेलायतमा रहेका नेपालीहरु बेलायती समाजको अभिन्न अंग रहेको कुरा च्यारिटीले पनि प्रमाणित गर्दछ भन्दै नेपालीहरुको प्रशंसा गरे । नेपाली डिनरसहित नेपाली परम्परागत सारंगीबाट सुरु भएको कार्यक्रममा सयपत्री सांस्कृतिक समाजका अध्यक्ष डम्बर सिंह, प्रभा बिक, बिष गुरुङ, शुभाशिश श्रेष्ठ, आरन, एन्जल, एरिना लगायतका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका थिए ।
बेलायतमा व्यवसाय गरिरहेका शिवजी श्रेष्ठ नेपालको लागि विभिन्न च्यारिटीमा संलग्न भइरहन्छन् र भन्छन्, ‘आफ्नो देशको लागि गर्ने कुरा त छँदैछ, तर आफू बसेको देशको लागि पनि केही गर्नु आफ्नो कर्तव्य हो’, अनि भन्छन् ‘संसारमा जहाँका मानिस चिसोले मरेपनि अहिलेको आधुनिक विश्वलाई चिमोट्ने कुरा हो नै’ जे होस् यसले एउटा सन्देश भने दिएको छ ।






