बौद्धिकतादेखि अदालतको कठघरासम्म डा. इन्द्रजित राई [विचार]

SHARE:

कुरा २०५८ सालको हो । माओवादीविरुद्ध नेपाली सेना परिचालन भएको थियो । धेरै मानिसहरू अब माओवादीहरू सखाप हुन्छन् भन्ने ठान्थे । कान्तिपुरको हाम्रो न्यूजरुमका कतिपय सिनियरहरू पनि त्यही धारणा राख्थे । उनीहरूलाई माओवादी विद्रोह छिट्टै अन्त्य हुन्छ भन्ने विश्वास थियो ।

त्यतिबेला म बीट रिपोर्टरका रूपमा केही अवकाशप्राप्त सैनिक अधिकारीहरूसँग कुरा गरिरहेको थिएँ । साथै, यस्ता विद्रोहसम्बन्धी सामग्रीहरू पनि सकेसम्म अध्ययन गरिरहेको थिएँ । बहालवाला सैनिक अधिकारीहरूमध्ये पनि सीमित व्यक्तिसँग संवाद भएको थियो । उनीहरूको मनोविज्ञान बुझ्ने प्रयास गरेको थिएँ । मलाई लागिरहेको थियो, परिस्थिति धेरैले सोचेजस्तो सहज छैन । अर्कोतर्फ, म यसअघि नै यस्तो विद्रोहको सैन्य समाधान सम्भव छैन भन्ने विश्वास राख्थें ।

सेना परिचालनपछिको अवस्था र सम्भावित युद्धबारे लेख्ने तयारी गरिरहेको थिएँ । सम्पादकबाट विषयवस्तु स्वीकृत पनि भइसकेको थियो । तर प्रश्न थियो, यस विषयमा कसलाई बोल्न लगाउने? मैले कुरा गरेका पूर्व सैनिक अधिकारीहरू लेखमा आफ्नो नाम उल्लेख गर्न चाहँदैनथे । बहालवाला अधिकारीहरूको नाम प्रकाशित गर्ने कुरा त झन् सम्भव नै थिएन ।

यही क्रममा एक दिन मेरो आँखा “The Great Military Thinkers of the World” भन्ने पुस्तकमा पर्‍यो । लेखकको नाम थियो, डा. इन्द्रजित राई । सुरुमा मैले उनी भारतीय लेखक होलान् भन्ने सोचेँ। तर पुस्तकमा विश्वका चर्चित सैन्य चिन्तकहरूसँगै नेपालको पृथ्वीनारायण शाहको पनि चर्चा गरिएको देखेपछि लेखक नेपाली पनि हुन सक्छन् भन्ने लाग्यो । नभन्दै, पुस्तकको पछाडिको आवरणमा रहेको परिचयबाट थाहा भयो, लेखक नेपाली रहेछन् । उनले भारतबाट Military Strategy मा पीएचडी गरेका रहेछन् । पुस्तकभित्र सम्पर्क नम्बर पनि दिइएको थियो ।

मलाई आशा पलायो, सैन्य विषयमा सार्वजनिक रूपमा आफ्नो नामसहित धारणा राख्न सक्ने व्यक्ति भेटिए । त्यही नम्बरमा फोन गरेँ । त्यो उनको निवासको नम्बर रहेछ । फोन उठाउने व्यक्तिले उनको कार्यालयको नम्बर दिए । त्यसपछि थाहा भयो, उनी ब्रिटिस स्कुलका प्रिन्सिपल रहेछन् ।

एक मनमा प्रश्न उठ्यो, देशमा यति ठूलो सशस्त्र द्वन्द्व चलिरहेको छ, सैन्य रणनीतिका विज्ञ भनिने एउटा स्कुलको प्रिन्सिपल भएर बसेका छन्! अर्को मनले भन्यो, मेरो काम नै मानिस खोज्ने र उनीहरूसँग कुरा गर्ने हो, भेट्दा के बिग्रन्छ र? समय मिलाएर भोलिपल्टै उनको कार्यालय पुगेँ ।

त्यहाँ उनले भारतमा अध्ययन गरेको, राजा वीरेन्द्रले नेपाल फर्कन निम्तो दिएको र त्यसपछि नेपाली सेनाको शिक्षा विभागको प्रमुख बनाएको सुनाए । मैले सैनिक विद्यालयमा पढेकी एक जना साथीलाई पनि सोधेको थिएँ । उनले आफूहरू पढ्दाको बेला राई सर प्रिन्सिपल रहेको बताइन् । राईले मलाई चार–पाँच पृष्ठ लामो बायोडाटा पनि दिए ।

फर्किएपछि मैले त्यो बायोडाटा पढेँ र उनको विषयमा केही सोधखोज पनि गरेँ । सेनाका मान्छेहरुमा उनीप्रतिको मूल्यांकन खासै सकारात्मक थिएनन् । तर उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउने आधार भने थिएन । धेरैले भन्ने गर्थे, “किताबी ज्ञान हो, फिल्डको अनुभव भने छैन ।”

उनलाई फोन गरेर अन्तर्वार्ताको समय मिलाएँ । भोलिपल्ट बिहान एक जना फोटो पत्रकारसहित उनको निवासमा पुगेर सेना परिचालन र त्यसपछिको सम्भावित युद्धको अवस्थाबारे लामो अन्तर्वार्ता लिएँ । त्यसपछि मैले विश्लेषणात्मक लेख तयार पारेँ । कान्तिपुरको कोशेलीको पहिलो पृष्ठभरि “युद्ध लम्बिँदै” शीर्षकमा त्यो लेख प्रकाशित भयो । त्यही लेखभित्र उनको छोटो अन्तर्वार्ता पनि हाइलाइट गरेर छापिएको थियो ।

लेखको विश्लेषण र डा. इन्द्रजित राईको अन्तर्वार्ता दुवैले राम्रो चर्चा पाए । प्रकाशन भएकै बिहान उनले फोन गरे । उनको स्वरबाटै थाहा हुन्थ्यो, उनी निकै खुसी थिए । उनले चियाको निम्तो दिए, मैले स्वीकार गरेँ ।

तीन दिनपछि फेरि बिहान उनको फोन आयो । यसपटक पनि उनी उत्साहित सुनिन्थे । उनले भने, “खिम भाइ, हिजो बीबीसीले मेरो अन्तर्वार्ता लियो नि ।”
त्यसपछि डा. इन्द्रजित राई नेपालमा सैन्य विश्लेषकका रूपमा चिनिन थाले । माओवादी द्वन्द्वमा रिपोर्टिङ गरिरहेका धेरै पत्रकार साथीहरूले उनको सम्पर्क माग्थे, म पनि फोन नम्बर दिइदिन्थेँ । विस्तारै उनी ब्रिटिस स्कुलको घेराबाट बाहिर निस्किएर काठमाडौंको बौद्धिक र सार्वजनिक बहसको एउटा परिचित अनुहार बन्न पुगे ।

सरकार र माओवादीबीच पहिलो शान्तिवार्ता भयो । माओवादी वार्ता टोली नै उनको निवासमा पुगेको थियो । पछि उनले मलाई सुनाएअनुसार, उनीहरूले उनका पुस्तकका ४०० प्रति पनि लगेका थिए । त्यसपछि माओवादीसँग उनको सम्पर्क कति निरन्तर रह्यो, त्यो मलाई थाहा भएन । तर माओवादीहरू शान्ति प्रक्रियामा आएपछि भने उनीहरूको निकटता बढ्यो । उनी सेना समायोजन प्राविधिक समितिको सदस्य भए । त्यसपछि संविधानसभा सदस्य पनि बने ।

उनी सेना समायोजन प्राविधिक समितिमा रहँदासम्म पत्रकार र स्रोतका रूपमा हाम्रो सम्पर्क कायम थियो । पछि म कान्तिपुरको अनलाइन र जिल्ला ब्युरो संयोजक भएपछि सक्रिय रिपोर्टिङ कम हुँदै गयो । त्यससँगै हाम्रो भेटघाट र कुराकानी पनि पातलिँदै गयो ।

पछि माओवादी नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनी सुरक्षा सल्लाहकार बनेको थाहा पाएँ । तर मेरो काम नपर्ने भएकाले सम्पर्क भएन । त्यसपछि उनी नक्कली भुटानी शरणार्थी काण्डमा मुछिए । लामो समय न्यायिक हिरासतमा रहेका डा. राईसहितका अभियुक्तलाई मंगलबार अदालतले दोषी ठहर गरेको खबर पढेँ ।

मैले पहिलो पटक भेट्दा उनी सौम्य स्वभावका, आफ्नो विषयमा गहिरो ज्ञान भएका र आफूले जानेका कुरा सञ्चारमाध्यमसँग खुलेर साझा गर्न नहिच्किचाउने व्यक्ति लागेका थिए । तर राजनीतिको दलदलमा प्रवेश गरेपछि उनको यात्रा अन्ततः भ्रष्टाचारको अभियोग हुँदै अदालतबाट दोषी ठहर हुने अवस्थासम्म पुग्यो ।

अवश्य पनि माथिल्लो अदालतमा जाने उनको संवैधानिक अधिकार सुरक्षित छ । त्यहाँबाट के निर्णय आउला, त्यो भविष्यको विषय हो । तर अहिलेको तथ्य यति हो, उनी अदालतबाट दोषी ठहर भएका छन् ।

पत्रकार खिम घलेको फेसबुक पेजबाट साभार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!