भगिरथ योगी
लन्डन । बेलायतमा असामयिक निधन भएकी नेपाली चेली रञ्जिता भण्डारीको शव अन्तिम संस्कारका लागि नेपाल पठाउन झन्डै ७ हजार पाउण्ड सहयोग संकलन भएको छ। स्वर्गीय भण्डारीको परिवारले उनको अन्तिम संस्कार मातृभूमि नेपालमै गर्ने इच्छा व्यक्त गरेपछि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानअन्तर्गत शनिबार बेलुकीसम्म ‘गो फन्ड मी’ (GoFundMe) मार्फत ६,९०० पाउण्डभन्दा बढी रकम संकलन भइसकेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय भण्डारीको दुःखद निधनले सम्पूर्ण नेपाली समुदायलाई मर्माहत बनाएको बताएका छन्। शोक वक्तव्य जारी गर्दै उनले रञ्जिता भण्डारीको असामयिक निधनले उनका पति दिवस थापा र दुई महिनाका शिशु छोरालाई गहिरो पीडामा छाडेको उल्लेख गरे। यो अत्यन्त कठिन घडीमा शोकसन्तप्त परिवारलाई मल्हम लगाउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली समुदाय तथा शुभेच्छुकहरू प्रति उनले हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन्।
काठमाडौंको गोकर्ण स्थायी घर भएकी रञ्जिता भण्डारी सन् २०२१ को अक्टोबरमा विद्यार्थीका रूपमा बेलायत आएकी थिइन्। उनी यहाँ एक नर्सिङ होममा केयररका रूपमा कार्यरत थिइन्। सन् २०२४ को फेब्रुअरीमा दिवस थापासँग वैवाहिक बन्धनमा बाँधिएकी उनी परिवारसहित प्रेस्टनमा बस्दै आएकी थिइन्। छोरा करिब ५० दिनको मात्र हुँदा गत २२ मे २०२६ मा रञ्जिताको दु:खद निधन भएको थियो। हाल शिशुलाई बेलायतको सामाजिक सेवा (Social Services) को संरक्षणमा राखिएको छ भने घटनापछि परिवार गम्भीर मानसिक तनावमा रहेको बताइएको छ। परिवारका अनुसार रञ्जिता एक मायालु श्रीमती र स्नेही आमा थिइन्। हाल उनको शव प्रेस्टनस्थित कोरोनरको जिम्मामा रहेको छ।
पछिल्लो समय बेलायतमा उच्च शिक्षा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरूमा आर्थिक समस्याका साथै मानसिक तनाव र चिन्ता बढ्दै गएको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष पुडासैनीले बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवा (NHS) का साथै विभिन्न च्यारिटीहरूले नि: शुल्क मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने व्यवस्था गरेको स्मरण गराउँदै कुनै पनि मानसिक समस्यालाई लुकाएर नराख्न र तत्काल व्यावसायिक सहयोग लिन आग्रह गरेका छन्। साथै, बेलायतमा रहेका नेपाली विद्यार्थी वा नागरिकलाई कुनै पनि समस्या आइपरेमा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके लगायतका नेपाली संघसंस्थाहरूलाई तत्काल सम्पर्क गर्न समेत उनले सुझाव दिएका छन्।
पीडित परिवारलाई थप सहयोग गर्न चाहनेहरूले उपलब्ध आधिकारिक गोफन्डमी लिंक (https://gofund.me/86802a30c) मार्फत आफ्नो योगदान पुर्याउन सक्नेछन्।






