लन्डन । गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी समस्याबारे नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अधिराज्य (बेलायत)का रक्षा राज्यमन्त्री ड्यान जारभिससँग भर्चुअल बैठक गरेका छन् ।
मंगलबार १४ जुलाई २०२६ मा भएको दुईपक्षीय बैठकमा बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी समस्याबारे छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल-बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वबारे प्रकाश पार्दै मन्त्री खनालले उनीहरूका गुनासाहरूको आपसी सहमतिमा आधारित समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले बेलायती सरकारलाई गोर्खाहरूको त्याग र योगदानको भावनालाई आत्मसात गर्दै उनीहरूका मागहरू सम्बोधन गर्न आग्रह गर्नुभयो । साथै, मन्त्री खनालले यस मुद्दालाई सहयोगात्मक ढंगले समाधान गर्न नेपाल सरकार रचनात्मक भूमिका खेल्न तयार रहेको बताउनुभयो।
रक्षा राज्यमन्त्री जारभिसले बेलायती गोर्खाहरूलाई बेलायती सेनाको अभिन्न अंगका रूपमा चर्चा गर्दै यस मुद्दाको यथाशीघ्र समाधान गर्नु बेलायती सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । बैठकमा परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त बैठकको समन्वय तथा सहजीकरण काठमाडौंस्थित बेलायती दूतावासले गरेको थियो ।






