लन्डन । आँधीखोला सेरोफेरो तमु समाज यूकेले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी शनिबार, १८ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ ।
कार्यक्रम प्यालेस रेस्टुरेन्ट अल्डरसटमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । समाजले स्याङ्जा जिल्लाको साविक आँधीखोला गाउँ विकास समितिअन्तर्गतका विभिन्न गाउँबाट बेलायतमा बसोबास गरिरहेका तथा तिनका परिवारलाई कार्यक्रममा सहभागी भई आपसी सम्बन्ध सुदृढ बनाउन आग्रह गरेको छ ।
कार्यक्रममा नयाँ तथा पुराना कार्यसमितिहरूको स्वागत तथा बिदाइ, समाजमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान, उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई बधाई तथा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरूको कदर गरिनेछ। साथै, राफल ड्र, बिङ्गो खेल, मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ।
सांस्कृतिक कार्यक्रममा नेपालबाट बेलायत भ्रमणमा रहेका चर्चित लोकदोहोरी गायिका शर्मिला प्हच्यु तमु र चर्चित गायक दुर्गा प्हच्यु तमुको विशेष प्रस्तुति रहनेछ। बेलायतमा रहेका स्थानीय कलाकारहरू नेत्र टु क्ल्हेप्री तमु, चन्द्र प्हच्यु तमु, शान्ति प्ल्हें तमु, निशा प्हच्यु तमु, उमा प्हच्यु तमु र रिता प्हच्यु तमुले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
आयोजकले कार्यक्रममा सहभागी हुने महिलाहरूलाई आँधीखोले तमु पोसाक तथा पुरुषहरूलाई तमु पोसाक वा स्मार्ट क्याजुअल पोसाकमा उपस्थित हुन अनुरोध गरिएको छ। प्रवेश शुल्क वयस्कका लागि २५ पाउन्ड तथा १२ वर्षमुनिका बालबालिकाका लागि १२ पाउन्ड तोकिएको छ।






