तस्बिर : शिव भण्डारी
लन्डन । धादिङ नुवाकोट समाज यूकेको यही १८ जुलाईमा हुने वार्षिक भेटघाट र डीएनएस कप २०२६ कार्यक्रमका लागि गायक प्रोसेस पाण्डे बेलायत आएका छन् ।
बहुप्रतिभाका धनी गायक पाण्डे बिहीबार राति लन्डनस्थित हिथ्रो एयरपोर्ट उत्रिएका हुन् । द भ्वाइस अफ नेपाल सिजन–६ का विजेता पाण्डेको स्वागतका लागि आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरु विमानस्थल पुगेका थिए ।
दृष्टि गुमे पनि सपना गुम्न नदिने, संघर्षलाई सफलताको गीतमा बदल्ने प्रेरणादायी व्यक्तित्व हुन् पाण्डे ।

तस्बिर : शिव भण्डारी
उक्त कार्यक्रममा चर्चित सर्जक, लेखक तथा हास्यव्यङ्ग्य कलाकार शैलेन्द्र सिम्खडा, लोकप्रिय गायिका, टेलिभिजन प्रस्तोता तथा मोडल शोभा त्रिपाठी, लोकप्रिय गायक तथा संगीतकार सुरिलो स्वरका धनी कुमार योन्जनको पनि प्रस्तुति रहने छ ।
‘फुटेर होइन, जुटेर अघि बढौँ’ भन्ने विश्वासलाई आत्मसात गर्दै धादिङ र नुवाकोटका मात्र होइन, बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै परिवारको भावनामा बाँध्ने प्रयासस्वरुप भेटघाट र खेलकुद कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम शनिबार १८ जुलाईमा फेल्थाम कलेजमा हुनेछ । अतिथि र स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुति, खेलकुद, सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग्य, बालबालिकाका रमाइला गतिविधि, आकर्षक लक्की ड्र, राफल ड्र तथा स्वादिष्ट चौरासी व्यञ्जनसहितको विशेष भोजनले दिनभरि सहभागीलाई भरपूर मनोरञ्जन प्रदान गरिने जनाइएको छ ।
यस वर्ष संस्था बेलायतको च्यारिटी हाउसमा विधिवत् दर्ता भएको खुसीको अवसरलाई अझ विशेष बनाउन, मनोरञ्जन मात्र होइन, प्रेरणाको उज्यालो बोकेर आउने असाधारण व्यक्तित्वहरूलाई आमन्त्रण गरेको आयोजकले जनाएको छ ।

डीएनएस कप
सोही दिन डीएनएस कप २०२६ हुने छ । ८ ए साइड फुटबल टुर्नामेन्टमा ८ टिमबीच प्रतिस्पर्धा हुने छ । प्रथम पुरस्कार ८ सय पाउन्ड र सेकेन्ड पुरस्कार ४ सय पाउन्ड, ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने छ । सहभागी टिमले दर्ता शुल्कबापत २ सय पाउन्ड तिर्नु पर्नेछ । खेल बिहान ९ देखि दिउँसो २ बजेसम्म समय तोकिएको छ ।
‘तपाईंको एउटा दिन, हाम्रो लागि एउटा इतिहास बन्न सक्छ । आउनुहोस्, नयाँ चिनजान गरौँ, पुराना सम्बन्धलाई अझ बलियो बनाऔँ, आफ्ना छोराछोरीलाई हाम्रो भाषा, संस्कृति र एकताको सुन्दर अनुभूति दिलाऔँ । किनकि संस्था भवनले होइन, तपाईं–हामी सबैको माया, साथ र उपस्थितिले बन्छ,’ धादिङ–नुवाकोट समाज यूके समर भेटघाट २०२६ आयोजक समितिको अपिल छ ।
विदेशको व्यस्त जीवन, कामको चाप र समयको दौडबीच कहिलेकाहीँ आफ्ना गाउँ, आफन्त, साथीभाइ र जन्मभूमिको मायाले मनलाई निकै तान्छ । यस्तै क्षणहरूलाई आत्मीय भेटघाटमा बदल्ने उद्देश्यका साथ धादिङ–नुवाकोट समाज यूकेले हरेक वर्ष समर भेटघाट आयोजना गर्दै आएको छ । परिवार, आफन्त र साथीभाइसँगै उपस्थित भई समर भेटघाटलाई भव्य सफल बनाइदिन आयोजकले अनुरोध गरेका छन् ।






