लन्डन । ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लिला सेलिङ माबो प्रतिष्ठित’वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् ।
यही १७ जुलाई २०२६ मा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डमा आयोजित १७औँ वर्ल्ड लिडर्स समिट’को विशेष समारोहमा लिलाले अवार्ड थापेकी हुन् । उक्त समारोहमा हाउस अफ लर्ड्सका सदस्य, किङ्स काउन्सिल तथा बार काउन्सिल अफ इङ्ग्ल्याण्ड एन्ड वेल्सका पूर्वअध्यक्ष मुख्य अतिथि वक्ता लर्ड ब्रेनन केसी; अक्सफोर्डका लर्ड मेयर काउन्सिलर रिचार्ड केम्प सीबीई, लिभरपुलका पूर्व लर्ड मेयर वीरेन्द्र शर्मा, बेलायतको हाउस अफ कमन्सका पूर्वसांसद (लेबर पार्टी); साथै अन्य विशिष्ट प्रमुख अतिथिहरू, मुख्य वक्ताहरू, प्रतिनिधिहरू तथा सम्मानित सहभागीहरूको उपस्थिति थियो ।

अवार्ड ग्रहणपछि माबोले भनिन्, ‘विश्वका ३० भन्दा बढी देशहरूबाट आउनुभएका उत्कृष्ट नेतृत्वकर्ताहरूसँग भेटघाट गर्ने, विचार आदानप्रदान गर्ने, अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्ने तथा उहाँहरूको अनुभवबाट सिक्ने अवसर साँच्चिकै प्रेरणादायी रह्यो । यो प्रतिष्ठित सम्मान प्रदान गर्नुका साथै यस्तो उल्लेखनीय अवसर उपलब्ध गराइदिनुभएकोमा निर्णायक मण्डल तथा ग्लोबल एम्पायर ईभेन्ट्स लिमिटेडप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।’
साथै, फार्नबरो र अल्डरसट निर्वाचन क्षेत्रका लागि सांसद एलेक्स बेकरले पुरस्कारका लागि दिएको बधाई तथा १७ जुलाई २०२६ मा अक्सफोर्डमा आयोजित समारोहका लागि व्यक्त गरेको शुभकामनाप्रति अध्यक्ष माबोले कृतज्ञता व्यक्त गरेकी छन् । उनले भनिन्, ‘तपाईंको आत्मीय सन्देश मेरो लागि अत्यन्तै अर्थपूर्ण र प्रेरणादायी छ।’
यात्राभरि निरन्तर साथ, सहयोग, हौसला र विश्वास प्रदान गर्ने परिवार, साथीभाइ, सहकर्मी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै अध्यक्ष लिलाले सम्मानले आफूलाई महिला सशक्तीकरण, समावेशी नेतृत्वको प्रवर्द्धन तथा सकारात्मक परिवर्तन सिर्जना गर्ने कार्यमा अझ समर्पित भएर अघि बढ्न प्रेरणा प्रदान गरेको बताएकी छन् ।






