लन्डन । धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेला तथा समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन)को अध्यक्षतामा १८ जुलाई २०२६ मा वार्षिक भेला तथा समर भेटघाट सम्पन्न भएको हो । प्रमुख अगैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर र समाजका अध्यक्ष तामाङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल र बेलायत दुवै देशको राष्ट्रियगानबाट प्रारम्भ गरिएको कार्यक्रममा दिवङ्गत आफन्तजनप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रेम गाहा मगरले यस्ता सामुदायिक कार्यक्रमहरूले नेपाली समुदायबीच एकता, सहकार्य, सांस्कृतिक संरक्षण तथा आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आयोजक संस्थाको प्रशंसा गरे । उनले युवा पुस्तालाई नेतृत्वमा अघि बढ्न प्रेरित गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।
विशेष अतिथि तथा नेपाल सरकारका पूर्व कानुन तथा न्याय संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन तामाङले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै समुदायलाई एकताबद्ध बनाउन यस्ता कार्यक्रमहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा उच्च शिक्षा हासिल गरेका विद्यार्थी, समाजका आजीवन सदस्य, नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा फुटबल प्रतियोगिताका विजेता खेलाडीहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

दोस्रो चरणको सांगीतिक कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का विजेता प्रोसेस पाण्डे, गायिका शोभा त्रिपाठी, गायक कुमार योञ्जन तथा हास्य कलाकार शैलेन्द्र सिम्खडाको उत्कृष्ट प्रस्तुतिले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्यो । विशेषगरी प्रोसेस पाण्डेको भावुक अभिव्यक्तिले उपस्थित सबैलाई गहिरो रूपमा प्रभावित बनाएको थियो ।











