पश्चिम लण्डनमा मन्दिर निर्माणार्थ सत्सङ्ग तथा भजन–कीर्तन भव्य रूपमा सम्पन्न

SHARE:

लण्डन । पश्चिम लण्डनमा स्थापना हुन गइरहेको बृहत् नेपाली सांस्कृतिक तथा धार्मिक केन्द्र (मन्दिर) निर्माण अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले हन्स्लोमा आयोजित सत्सङ्ग तथा भजन–कीर्तन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली कल्चरल सेन्टर यूकेको आयोजनामा आइतवार सम्पन्न कार्यक्रममा चर्चित दोहोरी गायक चन्द्र शर्मा तथा गायिका निरुषा भट्टराई पाण्डेको विशेष प्रस्तुति मुख्य आकर्षणको रूपमा रहेको थियो। कलाकारद्वयले प्रस्तुत गरेका आध्यात्मिक भजन, कीर्तन तथा सांगीतिक प्रस्तुतिहरूले उपस्थित भक्तजनलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रममा सहभागीहरूले भजन–कीर्तनसँगै सामूहिक रूपमा आरती तथा प्रार्थनामा सहभागी भई धार्मिक वातावरणलाई अझ सजीव बनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै हाल बेलायत भ्रमणमा रहेका गायक चन्द्र शर्माले विदेशी भूमिमा नेपालीहरूको आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माण हुनु गौरवको विषय भएको उल्लेख गरे। उनले यस्तो पवित्र अभियानमा आफू सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै बेलायतमा रहेका सम्पूर्ण नेपाली कलाकार, बुद्धिजीवी तथा समुदायलाई एकताबद्ध भई सहयोग गर्न आग्रह गरे। “धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन यस्ता पहलहरू अत्यन्त महत्वपूर्ण हुन्छन्,” उनले भने।

त्यस्तै, गायिका निरुषा भट्टराई पाण्डेले मन्दिर निर्माण महाअभियानमा सबैलाई सक्रिय रूपमा जुट्न आह्वान गरिन्। उनले धार्मिक आस्था र सामुदायिक एकताको प्रतीकको रूपमा निर्माण हुन लागेको मन्दिरले भावी पुस्तालाई समेत नेपाली संस्कृति र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। साथै, उनले आगामी दिनमा आफूले पनि यस अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

नेपाली कल्चरल सेन्टरका संरक्षक तथा पण्डित निरहरी घिमिरेको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा पश्चिम लण्डन तथा आसपासका क्षेत्रहरूबाट भजनप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले मन्दिर निर्माण अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आर्थिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

कार्यक्रममा सेन्टरका संरक्षकद्धय पण्डित चिरञ्जीवी ढकाल तथा पण्डित गोविन्द नेपालले गायक चन्द्र शर्मा र गायिका निरुषा भट्टराई पाण्डेलाई सम्मानपत्र गरे ।

हन्स्लोस्थित काठमाडौँ जोनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कल्चरल सेन्टरका संस्थापकहरू, कार्यसमिति सदस्यहरू, स्थानीय समाजसेवीहरू तथा साई हन्स्लो र फेल्थाम परिवारका सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

नेपाली कल्चरल सेन्टर यूकेले पश्चिम लण्डनमा निर्माण हुन लागेको यस बृहत् सांस्कृतिक तथा धार्मिक केन्द्रलाई सम्पूर्ण नेपाली समुदायको साझा परियोजनाको रूपमा अगाडि बढाइने बताउँदै आगामी दिनहरूमा यस्ता थप धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै सहयोग संकलन अभियानलाई निरन्तरता दिने जनाएको छ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!