लन्डन । आगामी ३० अगस्ट २०२६ मा आयोजना हुने १७ औं नेपाली मेला–२०२६ को तयारीलाई प्रभावकारी बनाउन बेलायतस्थित नेपाली राजदूतावास र तमु धी यूकेबीच संयुक्त बैठक सम्पन्न भएको छ।
शुक्रबार २४ जुलाईमा दूतावासमा भएको बैठकमा मेलाको समग्र तयारी, व्यवस्थापन तथा कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक विभिन्न पक्षमा विस्तृत छलफल भएको तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी दिए । सहभागीहरूले बैठक निकै फलदायी र सफल भएको उल्लेख गर्दै यसपटकको नेपाली मेलालाई बेलायतस्थित नेपाली समुदायको साझा पर्वका रूपमा सफल बनाउन सबै पक्ष प्रतिबद्ध रहेको बताएका छन्।
बैठकमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलगायतले बोलेका थिए । तमु धीं यूकेले आयोजना गर्ने नेपाली मेलामा हरेक वर्ष नेपाली दूतावास लन्डनको सहकार्य रहने गरेको छ।

यस अवसरमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजकले निमन्त्रणा गरेको छ।
“हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” मुख्य सन्देशसहित हुने नेपाली मेला केम्पटन पार्क रेसकोर्स, स्टेन्स रोड ईस्ट, सनबरी-अन-थेम्स, मिडलसेक्समा बिहान १०:०० बजेदेखि साँझ ८:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा बेलायतभरका नेपाली समुदायका साथै विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूको उल्लेखनीय सहभागिता रहने आयोजकको अपेक्षा छ।

मेलामा सांस्कृतिक प्रस्तुति, परम्परागत संगीत तथा नृत्य, प्रामाणिक नेपाली खानाका परिकार, कला तथा हस्तकला प्रदर्शनी, सामुदायिक अन्तरक्रिया, पारिवारिक मनोरञ्जन तथा व्यापारिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। विशेषगरी लाखे नृत्य र मारुनी नृत्य लगायतका मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।

आयोजक संस्थाले विदेशमा रहेका नेपाली पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्ने तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकता मजबुत बनाउने लक्ष्य रहेको जनाएको छ। मेलामा विभिन्न सांस्कृतिक झाँकी, नेपाली लोकसंस्कृतिको प्रदर्शन, नेपाली उत्पादनहरूको प्रदर्शनी तथा सामुदायिक नेटवर्किङका अवसरहरू समेत उपलब्ध हुनेछन्। आयोजकले बेलायतमा रहेका सम्पूर्ण नेपाली तथा नेपालप्रेमी समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति, संगीत, नृत्य, भोजन र सम्पदाको उत्सव मनाउन आग्रह गरेको छ।

मेला तयारीका लागि कसलाई के जिम्मेवारी ?
कार्यक्रमको मुख्य पाटोका रूपमा रहेको अतिथि समन्वयको जिम्मेवारी क्याप्टेन दीपक घले र शान्त कुमार गुरुङले लिएका छन् । यो उपसमितिमा ६ जना भोलेन्टियर हुनेछन् ।
पाहुनाहरूको स्वागत तथा आतिथ्यता सत्कारका लागि तमु धीं यूके आमा समूहका १२ जना भोलेन्टियरहरू खटिनेछन् । मेलाको स्टल व्यवस्थापनमा उपाध्यक्ष दिलमाया गुरुङ र एसके गुरुङ सक्रिय रहेका छन् भने प्रायोजन र आर्थिक व्यवस्थापनको पाटो सचिव विमल गुरुङ, सल्लाहकार दिलरास गुरुङ र कोषाध्यक्ष अरुण गुरुङले सम्हालेका छन् ।
सांस्कृतिक कार्यक्रमको संयोजन गुड्डु गुरुङ, ट्होंटे पर्वको व्यवस्थापन शिवराम गुरुङ बिईएमले गरिरहेका छन् । मेलाको सुरक्षाका लागि लेफ्टिनेन्ट मुक्तिजंग गुरुङ र पार्किङ व्यवस्थापनका लागि भरत गुरुङको नेतृत्वमा विशेष टोली परिचालन गरिनेछ। मेलाको सजावट र स्टेज व्यवस्थापनका लागि ३० जना भोलेन्टियरसहित दुर्गाबहादुर गुरुङ र लेफ्टिनेन्ट कुसाङ गुरुङलाई जिम्मेवारी तोकिएको छ।

यसैगरी, झाँकी प्रदर्शनलाई व्यवस्थित बनाउन शेरकाजी गुरुङ र महेन्द्र गुरुङले नेतृत्व लिनेछन् भने लजिस्टिक र भण्डारणको जिम्मा श्री गुरुङ र दीपक गुरुङलाई दिइएको छ।
स्वास्थ्य तथा वातावरण क्षेत्रमा मेजर बुद्धि गुरुङ र क्याप्टेन देव घलेले रेखदेख गर्नेछन्। मेलाको प्रचारप्रसारका लागि एसके गुरुङ छन् ।
प्रवेश टिकटमा तमु धीं यूके आमा समूह निर्देशनमा सोनिया गुरुङसहित १० भोलेन्टियर रहनेछ ।
स्टेज कार्यक्रमका लागि सूर्य गुरुङको नेतृत्वमा ४ भोलेन्टियर रहनेछन् । राफल ड्रमा कुमार गुरुङ, मेडल तथा ट्रफीमा कुसाङ गुरुङलाई जिम्मेवारी दिएको छ । साउन्ड सिस्टममा गोल्डी साउण्ड सिस्टमले काम गर्नेछ ।






