ब्रोड पिक हिमालमा मृत्यु भएका पुरबहादुर गुरुङको काठमाडौंमा अन्त्येष्टि

SHARE:

काठमाडौं । पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित पर्वतारोही पुरबहादुर ‘युक्त’ गुरुङको शुक्रबार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ।

तमु संस्कार र परम्पराअनुसार युक्तको स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । गुरुङको अन्तिम बिदाइका क्रममा गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग पौडेलले उनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरे। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। स्वयम्भूमा आफन्त, शुभचिन्तकलगायतको बाक्लो उपस्थिति थियो ।

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकका गुरुङ साउन १४ गते ब्रोड पिक आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका १० आरोहीमध्ये एक हुन्। उनको पार्थिव शरीर बिहीबार कतार एयरवेजको विमानमार्फत पाकिस्तानबाट दोहा हुँदै काठमाडौं ल्याइएको थियो।

१० पटक सगरमाथा आरोहण गरेका गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड महासंघ प्रमाणित माउन्टेन गाइड थिए। उनी नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा मनाङ माउन्टेनियरिङ स्कुल समितिका सदस्यसमेत थिए।

सामान्य परिवारबाट संघर्ष गर्दै अन्तर्राष्ट्रियस्तरका अनुभवी उच्च हिमाली गाइड बनेका गुरुङले सगरमाथासहित केटु, कञ्चनजङ्घा, मनास्लु, धौलागिरि, अन्नपूर्ण, मकालु र छोयु लगायतका विश्वका अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका थिए।

तमु समुदायबाट सबैभन्दा धेरै १० पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा परिचित गुरुङलाई गत जेठ २४ गते तमु सञ्चारकर्मीको समन्वयमा गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)ले सगरमाथा आरोही गुरुङहरूसँगै सम्मान गरेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!