काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आज मंगलबार २७औँ दिनमा पनि निरन्तर जारी रह्यो।
पुनर्स्थापना तथा पुनर्निर्माणमा एनआरएनएको भूमिकाबारे विज्ञसँग छलफल
विनाशकारी बाढीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा एनआरएनएको सम्भावित भूमिका र सहकार्यका विषयमा आज एनआरएनएका पदाधिकारीहरूले विज्ञसँग छलफल गर्नुभएको छ। पूर्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत एवं वरिष्ठ रणनीतिक सल्लाहकार सुशील ज्ञवालीसँग विपद्पछिको पुनर्स्थापना, पुनर्निर्माणमा एनआरएनएको सम्भावित भूमिका र सहकार्यबारे भएको छलफलमा पदाधिकारीहरूले विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दीर्घकालीन बनाउन एनआरएनएको विश्वव्यापी सञ्जाल, ज्ञान, सीप, पुँजी, प्रविधि र अनुभवलाई सरकारसँगको समन्वयमा व्यवस्थित रूपमा परिचालन गर्न आफूहरू प्रतिबद्ध रहेको धारणा राख्नुभयो। ज्ञवालीले स्वास्थ्य, शिक्षा, संरक्षण, जीविकोपार्जन तथा उद्यमशीलताका क्षेत्रमा सरकारसँग सहकार्य गर्दै दीर्घकालीन कार्यक्रम सञ्चालन गर्न एनआरएनएले भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। साथै, स्थायी बस्ती विकास गर्दा प्रभावित समुदायको आवश्यकता, इच्छा र भौगोलिक अवस्थालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो।
राहत अभियानबारे रिपोर्टर्स क्लबमा साक्षात्कार
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुँदै एनआरएनएका पदाधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि एनआरएनएले निरन्तर काम गरिरहेको बताउनुभएको छ। उहाँहरूले हाल बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण, स्वास्थ्य सेवा तथा आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। पदाधिकारीहरूले राहतसँगै विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि र अनुभव परिचालन गर्न सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढिरहेको बताउनुभयो। देशमा आइपर्ने हरेक विपद्मा संसारभर रहेका गैरआवासीय नेपालीहरू एकजुट भएर सहयोगमा जुट्दै आएको उल्लेख गर्दै उहाँहरूले तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणसम्म एनआरएनएले आफ्नो भूमिका निरन्तर प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो। कार्यक्रममा एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्का, उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), सहकोषाध्यक्ष गंगा खतिवडालगायत पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तुप्चे र देवीघाटका ८० परिवारलाई राहत सामग्री वितरण गरिँदै
भोटेकोशी बाढीबाट प्रभावित ८० परिवारलाई खाद्यान्न, ग्यास, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री वितरण गर्न एनआरएनएको टोली प्रभावित क्षेत्रमा जाने भएको छ। एनसीसी फिलिपिन्स र स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सको सौजन्यमा नुवाकोटको तुप्चे र देवीघाटमा बाढीपहिरो प्रभावित परिवारका लागि राहत सामग्री वितरण गर्न लागिएको हो । स्थानीय जनाप्रतिनिधिसंगको निरन्तर समन्वयपछि त्यहाँ आवश्यक ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्न लगायत सामाग्री वितरण गर्न लागिएको हो ।
मौसम प्रतिकूल हुने पूर्वानुमानपछि बेत्रावतीमा राहत वितरण स्थगित
मौसम विभागले आगामी केही दिन मौसम प्रतिकूल रहन सक्ने पूर्वानुमान गरेकाले नुवाकोटको बेत्रावती क्षेत्रमा तय गरिएको राहत वितरण कार्य हाललाई स्थगित गरिएको छ। प्रतिकूल मौसमका कारण राहत सामग्री ढुवानी तथा वितरणमा समेत कठिनाइ हुन सक्ने भएकाले तत्कालका लागि अभियान स्थगित गरिएको हो। मौसममा सुधार आएपछि केही दिनपछि राहत सामग्री वितरण कार्यलाई पुनः निरन्तरता दिइने गैरआवासीय नेपाली संघ सचिवालयले जनाएको छ ।






