लन्डन । बेलायतमा आज शनिबार आदिवासी मेला मनाइँदै छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले वकिङस्थित ग्याम्बललेनमा मेला आयोजना गरेको हो । आदिवासी मेलाको सम्पूर्ण तयारी पूरा भएको नेफिन यूकेका अध्यक्ष योगेश कोयू राई जानकारी दिएका छन् । मेला ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रममा विभिन्न जातजातिका एक दर्जनबढी आकर्षक सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन्। थारु, मगर, गुरुङ, लिम्बु, याक्खा, राई, तामाङ, दुरा, छन्त्याल, शेर्पालगायत समुदायले आफ्नो मौलिक संस्कृति प्रदर्शन गर्नेछन्। नेपालबाट आमन्त्रित कलाकार दिपा सुहाङ, राजेन्द्र केरुङ, अस्मिता राना, लक्ष्मण लिम्बुलगायतले विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने छन् ।
मेलाको अर्को आकर्षण भलिबल प्रतियोगितामा यस वर्ष २५ टिम सहभागी हुँदैछन्। सहज सञ्चालनका लागि ६ वटा खेलमैदान तयार पारिएको छ। यससँगै धनुषकाँड (आर्चरी) प्रतियोगिता र विविध खाद्य तथा हस्तकला स्टलहरू पनि रहनेछन्।
विश्वभर अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाइने गरिन्छ ।






