पूर्ण गुरुङ
लण्डन, बेलायत — बालविवाहविरुद्धको सशक्त सन्देश र महिला शिक्षाको महत्त्वलाई मुख्य विषयवस्तु बनाइएको नेपाली कथानक चलचित्र ‘गौथली’ को बेलायतका विभिन्न शहरहरूमा भव्य प्रदर्शन भइरहेको छ। गत शुक्रबार (७ अगस्ट) देखि अल्डरशट लगायत बेलायतका दुई दर्जनभन्दा बढी स्थानमा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो। बेलायतका प्रमुख शहरहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति र उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। सेनी वर्ल्ड, भ्यू, साभोय लगायतका विभिन्न हलहरूमा यो चलचित्र प्रदर्शन भएको हो।
डा. भोला रिजालको कथामा निर्माण भएको यस चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन्। आजभन्दा करिब ३० वर्षअघि नेपालको ग्रामीण भेगमा घटेका घटना तथा सामाजिक-पारिवारिक परम्परालाई चलचित्रमा जीवन्त रूपमा उतारिएको छ। परिवारको मान, प्रतिष्ठा र सम्मानका लागि गरिने त्याग तथा बालविवाहले ल्याउने प्रभावलाई चलचित्रले प्रस्तुत गरेको छ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयका साथै अरुण क्षेत्री, सिमरन खड्का, प्रकाश घिमिरे, लोनिभा तुलाधर लगायतका कलाकारहरूको सशक्त अभिनय एवम् जोडदार प्रस्तुति रहेको छ। शिक्षा—विशेष गरी महिला शिक्षाको अपरिहार्यतालाई जोड दिँदै जस्तोसुकै कठिन परिस्थितिमा पनि उच्च लक्ष्य (चन्द्रमा छुने उद्देश्य) राखेर अघि बढ्नुपर्छ भन्ने सकारात्मक सन्देश चलचित्रले दिएको छ।
गत शुक्रबार सेनी वर्ल्ड हलमा प्रदर्शन भएको विशेष प्रदर्शन कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए (NRNA) युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ र योगेन क्षेत्रि, बुद्धिस्ट कम्युनिटी सेन्टर युकेका संस्थापक अध्यक्ष लप्टन काजी शेर्पा, गोर्खा मिडियाका मिलन तमु, अन्य समुदाय लगायत बेलायतस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधि एवम् विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
डाक्टर कपिल रिजाल र सुमन गिरी द्वारा निर्मित गौथली चलचित्रको मिठासपूर्ण प्रस्तुति, उत्कृष्ट निर्देशन र प्रशंसनीय अभिनयले दर्शकहरूको मन जित्न सफल भएको छ। शनिबार पनि चलचित्रको विशेष प्रदर्शन रहने जानकारी डाक्टर रजनी रिजालले जानकारी गराएकी छन्। साथै उक्त चलचित्र नेपालका विभिन्न शहरहरूमा गत साउन १ गते (जुलाई १७) देखि भव्य रूपमा प्रदर्शन भइरहेको छ।







