पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले आफ्नो जन्मथलोमा क्यान्सर सचेतना एवम् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकी छन् ।
पुनमको अध्यक्षमा स्थापना गरिएको दिदीबहिनी एकता फाउण्डेसनको आयोजनामा शनिबार आफ्नै जन्मथलो पोखरा–१३ विजयपुर पोखरीगाउँबाट स्वास्थ्य शिविरको आयोजना गरिएको हो । बुबा कर्णेल स्वर्गीय मनिन्द्र गुरुङको प्रेरणाबाट फाउण्डेसनको स्थापना गरेको उनले जानकारी दिइन् । पुनमको बुवाको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो ।
क्यान्सरको पहिचान समयमै गर्न सकियो भने बिरामी निको हुने भएकाले आफूले क्यान्सर सचेतनाका साथै स्वास्थ्य शिविर गरेको उनको भनाइ छ । शनिवार आयोजित शिविरमा आर्वा, मौजा, विजयपुर पोखरीलगायत स्थानबाट आएका २१० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।
चरक मेमोरियल अस्पताल नागढुंगा पोखराको प्राविधिक सहयोग, मौजा विजयपुर समाज यूकेको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो ।








