लन्डन । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले नेपालका लागि असाधारण योगदान पुर्याएका विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई नेपाल सरकारले उचित सम्मान दिनुपर्ने बताएका छन् ।
बालेन सरकारलाई ज्ञानपनपत्र बुझाउँदै अध्यक्ष गाहा मगरले राष्ट्रको प्रतिष्ठा र पहिचानलाई विश्वस्तरमा पुर्याउने योगदानको मूल्यांकन गर्दै राज्यले उचित सम्मान दिनुपर्ने बताएका हुन् ।
एनआरएनए यूकेले निर्मल पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गरी उनको योगदानअनुसार सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न पुनः आग्रह गरेको छ । यस्तो सम्मान निर्मल पुर्जाको व्यक्तिगत सम्मान मात्र नभई नेपालको गौरव, इतिहास, राष्ट्रिय स्वाभिमान र विश्वसामु नेपाली पहिचानको सम्मान हुने पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष गाहा मगरले इतिहासमा नेपालले विदेशी नागरिकलाई समेत उनीहरूको योगदानका आधारमा उच्च सम्मान दिएको उदाहरण प्रस्तुत गरे ।
उनले सन् १९५३ मा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि हिलारीले नेपाल र नेपाली हिमालका लागि पुर्याएको योगदानको स्मरण गरे । नेपालले हिलारीलाई उच्च सम्मान प्रदान गरेको र पछि मानार्थ नेपाली नागरिकतासमेत दिएको उल्लेख गर्दै गाहा मगरले उनको योगदानको सम्मानस्वरूप नेपालमा विभिन्न स्थान तथा संस्थासँग उनको नाम जोडिएको बताए ।
‘यदि नेपालका लागि योगदान गर्ने विदेशी नागरिकलाई हामी यति ठूलो सम्मान दिन सक्छौँ भने, नेपालकै माटोमा जन्मिएका निर्मल ‘निम्स’ पुर्जालाई किन राष्ट्रिय विभूति घोषणा गर्न नसक्ने ?’ गाहा मगरको प्रश्न छ । ‘यो नागरिकताको विषयभन्दा माथि उठेर राष्ट्रका लागि उहाँले पुर्याउनुभएको असाधारण योगदानको सम्मान गर्ने विषय हो,’ उनले भने ।
राष्ट्रिय विभूति घोषणा गर्नु एउटा व्यक्तिलाई दिइने सम्मान मात्र नभई भावी पुस्ताका लागि प्रेरणाको सन्देशसमेत हुने गाहा मगरको भनाइ छ । ‘तिमीले राष्ट्रका लागि असाधारण योगदान गर्यौ भने राष्ट्रले तिमीलाई कहिल्यै बिर्सने छैन भन्ने सन्देश राष्ट्रिय विभूति घोषणाले आउने पुस्तालाई दिन्छ,’ उनले भने ।
एनआरएनए यूकेले निर्मल पुर्जाको जीवनले ‘असम्भव पनि सम्भव हुन्छ’ भन्ने विश्वास लाखौं मानिसमा जगाएको बताएको छ । उनका साहस, मानवता र सेवाको भावनाले भावी पुस्तालाई समेत प्रेरणा दिने पत्रमा उल्लेख छ ।
पत्रमा नेपालले एक महान् पर्वतारोही मात्र गुमाएको नभई राष्ट्रले आफ्नो गौरवशाली सन्तान, बेलायती गोर्खा समुदायले आफ्नो गौरव र विश्वले एक अद्वितीय प्रेरणाको स्रोत गुमाएको उल्लेख गरिएको छ । यस्ता व्यक्तित्व इतिहासमा विरलै जन्मिने भएकाले राष्ट्रले समयमै सम्मान गर्नुपर्ने एनआरएनए यूकेको भनाइ छ ।






