लन्डन । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले निम्सदाइको अन्त्येष्टिबारे बिहीबार सूचना जारी गरेको हो । एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुमले जारी गरेको सूचनाअनुसार अगस्ट २६ बुधबार बिहान १० बजे बेलायतको डोर्सेटमा पुर्जाको अन्त्येष्टि गरिनेछ ।
अन्त्येष्टि कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिलाई नाम दर्ता गर्न एनआरएनए यूकेले आग्रह गरेको छ । सहभागी हुन चाहनेले अगस्ट २२ शनिबार राति ११ बजेसम्म (बेलायतको समय) नाम दर्ता गरिसक्नुपर्नेछ ।
४३ वर्षीय पुर्जाको जुलाई ३० मा पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी मृत्यु भएको थियो । उनको शव गत आइतबार पाकिस्तानबाट बेलायत ल्याइएको थियो ।
हिमपहिरोमा निम्सदाइसहित ६ नेपाली र चार विदेशीको मृत्यु भएको थियो ।





