लन्डन । विश्वप्रसिद्ध कीर्तिमानी पर्वतारोही, पूर्व गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्सदाइ’को अन्त्येष्टि समारोहमा सहभागी हुन चाहने व्यक्ति तथा संघ–संस्थाका प्रतिनिधिहरूका लागि गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले आधिकारिक उपस्थिति दर्ता गर्न गर्न आग्रह गरेको छ ।
एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुम लिम्बूले एक सूचना जारी गर्दै निम्सदाइको अन्त्येष्टिमा सहभागी हुन चाहने सबैले एनआरएनए यूकेमार्फत उपलब्ध गराइएको आधिकारिक दर्ता फाराम अगस्ट २२ सम्ममा अनिवार्य रूपमा भर्नुपर्ने जानकारी दिएका हुन् । संघ–संस्थाबाट सहभागी हुने प्रतिनिधिहरूले सहभागी सबै सदस्यको नाम तथा आवश्यक सवारीसाधनसम्बन्धी विवरणसमेत उपलब्ध गराउनुपर्नेछ।
‘निम्सदाइको अन्त्येष्टिमा सहभागी हुन चाहनेहरूले शनिबार, २२ अगस्ट २०२६ राति ११ बजेसम्म यूके समयअनुसार दर्ता गरिसक्नुपर्नेछ,’ महासचिव खजुमले जारी गरेको सूचनामा उल्लेख छ ।
निम्सदाइको अन्त्येष्टि २६ अगस्ट २०२६ मा बिहान १० बजे डोर्सेट, बेलायतमा हुनेछ। निम्सदाइको विशिष्ट सैनिक सेवा र योगदानको सम्मान गर्दै अन्त्येष्टि समारोहमा सैनिक सम्मानसहित श्रद्धापूर्वक अन्तिम बिदाइ गर्ने तयारी गरिएको छ।
अन्त्येष्टि स्थलको सुरक्षा, गोपनीयता तथा स्वर्गीय निम्सदाइको परिवारको इच्छालाई सम्मान गर्दै कार्यक्रमको ठ्याक्कै स्थान र विस्तृत व्यवस्थाबारे दर्ता पुष्टि भएका व्यक्तिलाई मात्र जानकारी गराइने एनआरएनए यूकेले जनाएको छ। पार्किङको व्यवस्था सीमित रहेकाले सम्भव भएसम्म एउटै सवारीसाधनमा यात्रा गर्न वा कार प्रयोग गर्नसमेत अनुरोध गरिएको छ।
महासचिव लिम्बूले निम्सदाइको निधन नेपाली समुदाय, गोर्खा परिवार, बेलायती सैनिक समुदाय तथा विश्व पर्वतारोहण क्षेत्रका लागि अपूरणीय क्षति भएको बताउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गर्न चाहने सबैलाई समयमै दर्ता गर्न अनुरोध गरेका छन् ।
निम्सदाइको पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी ३० जुलाईमा निधन भएको थियो ।






