नेपाली मेलाका लागि तीव्र तयारीमा लाग्न मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुनको आग्रह

SHARE:

लन्डन । बेलायतमा आगामी ३० अगस्ट आइतबार आयोजना हुन गैरहेको नेपाली मेलाका लागि मगर संघ यूकेले आफ्ना सदस्य, कलाकार, युवा–युवती तथा शुभेच्छुकहरूलाई तयारी तीव्र बनाउन आग्रह गरेको छ।

तमुधिं यूकेको आयोजनामा केम्प्टन पार्क रेसकोर्समा हुने नेपाली मेला बेलायतस्थित नेपाली समुदायको कला, संस्कृति, भेषभूषा, परम्परा र राष्ट्रिय पहिचानलाई एउटै साझा मञ्चमा प्रस्तुत गर्ने प्रतिष्ठित कार्यक्रमका रूपमा स्थापित छ। विभिन्न जातजाति, समुदाय तथा संघसंस्थालाई नेपाली पहिचान र आपसी सद्भावको सूत्रमा जोड्ने यस मेलामा मगर संघ यूकेले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने सांस्कृतिक झाँकी प्रस्तुत गर्ने तयारी गरेको छ।

मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुनले मेलाका लागि अब दुइ साता भन्दा पनि कम समय बाँकी रहेकाले सहभागी सबैलाई आ–आफ्नो भेषभूषा, गरगहना तथा आवश्यक सामग्री समयमै तयार राख्न आग्रह गरेका छन्।

उनले रिहर्सल गर्न बाँकी रहेका कलाकार तथा सहभागीहरूलाई समयमै अभ्यास पूरा गरी प्रस्तुति चुस्तदुरुस्त बनाउन तथा आवश्यक पोसाक, सामग्री र अन्य तयारीसमेत निर्धारित समयमै सम्पन्न गर्न अनुरोध गरेका छन्।

मेलाको तयारीलाई प्रभावकारी बनाउन मगर संघ यूकेका केन्द्रीय महासचिव गोमान पुनलाई संघका सम्पूर्ण शाखा तथा भ्रातृ एवं आबद्ध मगर समाज/संस्थाका अध्यक्ष र सचिवहरूसँग आवश्यक समन्वय तथा परामर्श गरी तयारीको प्रगति विवरण नियमित रूपमा अद्यावधिक गर्न पनि आग्रह गरिएको छ। शाखा तथा संस्थाबाट प्राप्त विवरण संकलन गरी नेपाली मेला संयोजक तथा उपाध्यक्ष विष्णु सिरीससमक्ष नियमित रूपमा प्रगति रिपोर्ट उपलब्ध गराउनसमेत भनिएको छ।

अध्यक्ष पुनले नेपाली मेलालाई मगर संस्कृति, भेषभूषा, कला, परम्परा र पहिचानको मौलिकता सम्पूर्ण नेपाली समुदायसमक्ष गर्वका साथ प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

विशेषगरी नयाँ पुस्ता र युवा–युवतीलाई दर्शकका रूपमा मात्र नभई सक्रिय सहभागी बनाउनुपर्ने उनले बताए। पुर्खाबाट प्राप्त मगर संस्कार, संस्कृति, भेषभूषा, कला र परम्परालाई भाषण र शब्दमा मात्र सीमित नराखी प्रत्यक्ष सहभागिता, अभ्यास र अनुभवमार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ।

“नयाँ पुस्तालाई सिक्ने, गर्ने र नेतृत्व लिने अवसर दिनुपर्छ। उनीहरूको सक्रिय सहभागिता नै हाम्रो संस्कृति, पहिचान र अस्तित्वको निरन्तरताको बलियो आधार हो,” अध्यक्ष पुनले भने।

मगर संघ यूकेले नेपाली मेलालाई मगर समुदायको एकता, पुस्तान्तरण, सक्रिय सहभागिता र सांस्कृतिक गौरवको सुन्दर उदाहरण बनाउने उद्देश्य राखेको जनाएको छ।

यसैबीच, मगर संघ यूकेले पछिल्लो समय सम्पन्न आफ्ना प्रमुख कार्यक्रमहरू सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। संघले २५ जुलाईमा नेपाली ओपन कन्सर्ट सफलतापूर्वक सम्पन्न गरेको थियो भने १५ अगस्टमा प्रथम शहीद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट पनि भव्य रूपमा सम्पन्न भएको थियो।

यी कार्यक्रमहरूको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघका संस्थापक अध्यक्ष तथा सदस्यहरू, पूर्वअध्यक्ष, संरक्षक, ट्रस्टी, सल्लाहकार, केन्द्रीय कार्यसमिति, शाखा, भ्रातृ तथा आबद्ध मगर समाज/संस्था, सदस्य, कलाकार, युवायुवती तथा शुभेच्छुकहरूप्रति मगर संघ यूकेले धन्यवाद ज्ञापन गरेको छ।

संघले यी कार्यक्रमहरूले बेलायतस्थित नेपाली समुदायबीच आपसी मित्रता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन योगदान पुगेको विश्वास पनि व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!