लगभग साढे दुई दशकपछि केही महिना नेपाल बस्ने मेसो पर्यो । निकै वर्षपछि आफ्नो जन्मभूमिमा अलिअलि घुमियो, विभिन्न कार्यक्रमहरू, साथीभाइहरुसँग उठबस गरियो, हरेक राजनैतिक दलमा आस्था राख्नेहरूसँग कुराकानी पनि गर्न पाइयो, कतिपय कुराहरूमा आफ्नो धारणा राखियो त धेरै जस्तो कुरामा मूकदर्शक बनियो, सबैका कुरा सुनियो बुझियो र उनीहरूका गतिविधिहरू पनि हिजोआज गरेर थाहा पाइयो । मलाई जस्तै सबैलाई आफू सही र अरू गलत लाग्ने रोगले ग्रसित बनाएको स्पष्ट थाहा पाइयो, मैले जे पनि गर्न पाउनु पर्छ तर अरूले केही गर्न पाउन्नन्, यस्तै यस्तै …अझ मनमा लाग्ने कुरा त देशका बारेमा हामीले बाहेक अरूले सोच्ने, बोल्ने, गर्ने या हर्ने अधिकार हामीलाई मात्रै छ, अरूले त बोल्नै पाउन्नन्…. यसै कुरालाई लिएर पहिले पहिलेका कथा वाचकहरुले राम कथामा सुनाइने एउटा अत्यन्त मार्मिक लोक प्रसंग मैले कतै सुनेको थिएँ त्यसैलाई आज यता शेयर गर्न मन लाग्यो ।
चौध वर्षको वनवास पूरा गरी मर्यादा पुरुषोत्तम भगवान् श्रीराम, सीता मैयाँ र भाइ लक्ष्मण अयोध्या फर्कँदै थिए। यता तत्कालीन अयोध्याको राजकाज सञ्चालन गरिरहेका भाइ भरतले दाजु र भाउजूलाई अपार श्रद्धा र सम्मानका साथ स्वागत गर्दै नगर परिक्रमा गराइरहेका थिए । अयोध्या नगरीका बाटोका दुवैतर्फ हजारौँ नागरिक आफ्ना प्रिय राजाको स्वागतमा उभिएका थिए। तर यसै क्रममा श्रीरामको दृष्टि एउटा कुरामा अडिएछ, त्यो भीडमा वृद्ध र प्रौढ अनुहार त प्रशस्तै थिए, तर साना बालबालिका लगभग देखिँदैनथे। तत्काल भगवान् रामले आश्चर्य मान्दै भरतलाई सोधेछन्
“भाइ भरत, यत्रो अयोध्या राज्यका बालबालिका कहाँ छन् त ? किन यस्तो रमाइलो माहौलमा पनि उनीहरूलाई नल्याएका होलान् ? “
लोककथा अनुसार , त्यो बेला कैकई पुत्र भाइ भरतले भावुक हुँदै उत्तर दिए “प्रभु, जुन दिन तपाईँ वनवास जानुभयो, त्यस दिनदेखि अयोध्यावासीले आफ्ना राजा घर नफर्केसम्म कुनै पनि रंगरस नगर्ने यतिसम्म की दाम्पत्य सहवास समेत नगर्ने प्रतिज्ञा गरे। तपाईँले वनमा चौध वर्ष तपस्या गर्नुभयो, यहाँ प्रजाले पनि आफ्नो सुख त्यागेर चौध वर्ष तपाईँको प्रतीक्षामा तपस्या नै गरे, अब सहवास नै नगरेपछि सन्तान जन्मने कुरै भएन, त्यस कारण यति बेला हाम्रो राज्यमा एक वर्षबाट चौध वर्षका बालबालिका छैनन् ।” यो सुनेर श्रीरामका आँखा रसाए।सायद वास्तविक रामराज्यको अर्थ यही थियो होला, की राजा मात्र मर्यादामा बाँधिएको हुँदैन, प्रजा पनि आफ्नो कर्तव्यमा बाँधिए भने मात्र पुरै देशमा रामराज्य आउँछ ।
यहाँ भगवान् रामले पुत्रको कर्तव्य निभाउँदै पिताको वचनका लागि राजसिंहासन त्यागे। उता सीताले पनि पत्नीको कर्तव्य सम्झेर राजमहलको सारा सुख छोडेको देखिन्छ भने लक्ष्मणले भाइको कर्तव्य निभाउँदै चौध वर्ष दाजुको साथ छोडेनन्।त्यति मात्रै कहाँ हो र त्यो बेला सबैभन्दा सङ्कटमा परेका भरतले भाइ र शासक दुवैको धर्म निभाउँदै आफू राजा बन्न सक्ने अवसर त्यागेर रामका पादुका (जुत्ता) लाई राजाको प्रतीकका रूपमा सिंहासनमा राखेर राज्यलाई यथावत सञ्चालन गरे, फेरी सबैभन्दा महत्वपूर्ण कुरा त सारा प्रजाले पनि आफ्नो प्रिय राजाको दुःखलाई केवल राजाको दुःख ठानेनन त्यसलाई आफ्नै दुःख सम्झिए ।
मलाई यो प्रसङ्ग निकै रोचक लाग्छ किनकि आज हामीलाई हरेक अधिकारहरू जसरी पनि चाहिन्छ त्यसका लागि जे जे गर्न पर्छ सबै गर्छौँ, लड्छौँ, भिड्छौँ, उस्तै परे मर्छौँ मार्छौँ तर हाम्रो न्युनतम कर्तव्य निभाउन कत्ति पनि तयार छैनौँ ।
यदि राजाले जनताप्रति कर्तव्य निभाए,जनताले राष्ट्रप्रति, नेताले पदप्रति,कर्मचारीले आफ्नो सेवाप्रति अझै सुरुमा त आमाबाबुले सन्तानप्रति, सन्तानले आमाबाबुप्रति, पति–पत्नीले एक अर्काप्रति,र हरेक नागरिकले समाजप्रति जिम्मेवार हुने हो भने त्यसै रामराज्य बन्थ्यो होला नि ।
कर्तव्य बिर्सेर अधिकार मात्र खोज्ने समाजमा रामराज्यको कल्पना गर्न त सजिलो छ, तर यसलाई निर्माण गर्न सोचे जस्तै सहज नहुन सक्छ । मलाई यो रामराज्य केवल कुनै सिंहासनको नाम मात्रै हो जस्तो लाग्दैन यो त सिम्बोलिक हिसाबले आफ्नो हिस्साको कर्तव्य अरूले सम्झाउनु अघि आफैँ पूरा गर्ने संस्कारको उद्गम बिन्दु हो । आज हामीलाई भगवान् राम फर्किने प्रतीक्षाभन्दा आफूभित्रको रामको जस्तो मर्यादा, त्याग, सत्य, जिम्मेवारी र कर्तव्य फर्काउन कोसिस गर्ने भने कोही कसैसँग रिसाउन, गुनासो गर्दै पर्ने थिएन । तसर्थ कुनै पनि देश राम्रो शासकले मात्र बन्ने हैन, देश बन्न त आफ्नो कर्तव्य बुझ्ने नागरिकको महत्त्वपूर्ण भूमिका रहन्छ ।






