बाघेता समाज यूके दक्षिण वेल्स ब्रेकन भ्रमण २०२६

SHARE:

क्याप्टेन देब घले – बेलायत। 

बाघेता समाज यूकेले आफ्नो वार्षिक ग्रीष्मकालीन भ्रमण कार्यक्रम १४ देखि १६ अगस्ट २०२६ सम्म दक्षिण वेल्सको रमणीय ब्रेकन क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरेको छ। यस भ्रमणले समाजका सदस्यहरू तथा परिवारजनहरूलाई एकै ठाउँमा भेला हुन, मित्रता अझ प्रगाढ बनाउन, पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउन तथा समाजको स्थापनाकालदेखि रहिआएको एकताको भावनालाई अझ सुदृढ बनाउने अमूल्य अवसर प्रदान गर्‍यो।

तीन दिनसम्म चलेको यो भ्रमण मनोरञ्जन, साहसिक अनुभव र आत्मीयताले भरिपूर्ण रह्यो। सहभागीहरूले दक्षिण वेल्सका केही उत्कृष्ट प्राकृतिक एवं पर्यटकीय स्थलहरूको अवलोकन गर्ने अवसर प्राप्त गरे। भ्रमणका मुख्य आकर्षणहरूमा मनमोहक फोर वाटरफल्स वाक, सुन्दर ल्लाङ्गोर्स लेक तथा दक्षिण वेल्सकै सबसे अग्लो र प्रसिद्ध पेन वाई फ्यान डाँडा रहेका थिए। यी स्थलहरूको भ्रमणले प्राकृतिक सौन्दर्यको आनन्द लिनुका साथै दैनिक व्यस्त जीवनशैलीबाट केही समय अलग भई एकआपसमा गुणस्तरीय समय बिताउने अवसर प्रदान गर्‍यो।

यस भ्रमणको प्रमुख आकर्षण पेन वाई फ्यानको पदयात्रा थियो। यद्यपि केही स्थानमा उकालो यात्रा चुनौतीपूर्ण थियो, तथापि शिखरमा पुगेपछि प्राप्त भएको उपलब्धि र सन्तुष्टिको अनुभूति अत्यन्तै अविस्मरणीय रह्यो। ब्रेकन बिकन्स क्षेत्रका मनोरम दृश्यहरू, शीतल पहाडी हावा तथा शिखरमा पुगेपछि प्राप्त हुने गौरवको अनुभूतिले सम्पूर्ण मेहनतलाई सार्थक बनायो। यात्राभर सदस्यहरूले एकअर्कालाई सहयोग, हौसला र साथ दिएका थिए, जसले बाघेता समाज यूकेको बलियो पारिवारिक भावनालाई स्पष्ट रूपमा झल्काएको थियो। यसका साथै सम्पूर्ण भ्रमण अवधिभर मौसमले पनि पूर्ण साथ दिएकोले कार्यक्रमको सफलता अझ बढ्न पुगेको थियो।

यस अवसरमा बाघेता समाज यूकेका संस्थापक अध्यक्ष आदरणीय श्री कृष्ण गुरुङ (कृष्ण काका) प्रति विशेष सम्मान र हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। भ्रमणको प्रारम्भिक योजना, समन्वय, बुकिङ व्यवस्थापन तथा समग्र सञ्चालनमा उहाँले देखाउनु भएको उत्कृष्ट नेतृत्व, अथक परिश्रम र समर्पण वास्तवमै प्रशंसनीय थियो। उहाँकै कुशल व्यवस्थापनका कारण सम्पूर्ण कार्यक्रम सुरुदेखि अन्त्यसम्म व्यवस्थित, सुरक्षित र सफलतापूर्वक सम्पन्न हुन सकेको हो। विगत धेरै वर्षदेखि कृष्ण काकाले बाहुण्डाँडा, घेर्मु र ताघ्रिङ क्षेत्रका परिवार तथा सदस्यहरूलाई एक परिवारका रूपमा जोड्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। बाघेता समाज यूकेको विशिष्ट पारिवारिक वातावरणलाई कायम राख्न उहाँले पुर्‍याउनु भएको योगदान अतुलनीय छ। यस वर्षको भ्रमणको सफलतामा उहाँको दूरदर्शिता, नेतृत्व क्षमता र संगठनात्मक दक्षताको महत्वपूर्ण भूमिका रहेको छ। सम्पूर्ण सहभागीहरूको तर्फबाट उहाँप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछु।

यस भ्रमणको सफलतामा थुप्रै समर्पित व्यक्तिहरूको सामूहिक प्रयास र सहयोग रहेको छ। विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु श्रीमती तुलसी माया घले ज्यूलाई, भ्रमण अवधिभर उत्कृष्ट फोटोग्राफी, भिडियो रेकर्डिङ, टिकटक निर्माण तथा अविस्मरणीय क्षणहरूलाई सुन्दर रूपमा कैद गरिदिनु भएकोमा। उहाँको सिर्जनात्मकता र उत्साहले यस भ्रमणका यादगार क्षणहरूलाई दीर्घकालसम्म स्मरणीय बनाएको छ। साथै, क्याप्टेन देब बहादुर घले ज्यूलाई सम्पूर्ण भ्रमण अवधिभर स्वादिष्ट तयार गरी सबैलाई सेवा प्रदान गर्नुभएकोमा, श्री टिकाराम गुरुङ ज्यूलाई उत्कृष्ट डिनर तथा स्वादिष्ट बिबिक्यु परिकारहरू तयार गरी सहभागीहरूलाई स्वादिलो भोजनको आनन्द प्रदान गर्नुभएकोमा, र समर्पित आमा समूहलाई खाना तयारी, भान्साको व्यवस्थापन, आतिथ्यता तथा सरसफाइमा निरन्तर खटिनु भएकोमा हार्दिक धन्यवाद। यसका साथै सम्पूर्ण सल्लाहकारहरू, कार्यसमिति सदस्यहरू, स्वयंसेवी चालकहरू तथा अन्य सहयोगी महानुभावहरूलाई, जसले आफ्नो समय, परिश्रम, यातायात, किनमेल तथा आवश्यक व्यवस्थापनमार्फत भ्रमणलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभयो, उहाँहरू सबैप्रति कृतज्ञता ज्ञापन गर्दछु।

पेन वाई फ्यान डाँडाको शिखरसम्म सफलतापूर्वक आरोहण गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। शिखरसम्म पुग्न दृढ इच्छाशक्ति, धैर्यता, शारीरिक क्षमता र टोलीगत सहकार्य आवश्यक पर्दछ। उहाँहरूको उपलब्धिले सहभागीहरूको सकारात्मक सोच, उत्साह र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यो उपलब्धि यस भ्रमणको एक अविस्मरणीय कोशेढुङ्गा बनेर रहनेछ। पेन वाई फ्यानको शिखर सफलतापूर्वक आरोहण गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना!

समग्रमा, बाघेता समाज यूकेको दक्षिण वेल्स ब्रेकन भ्रमण २०२६ अत्यन्त सफल, उपलब्धिमूलक र स्मरणीय रह्यो। यसले सदस्यहरू तथा परिवारहरूलाई एकै ठाउँमा भेला भई अनुभव आदानप्रदान गर्ने, मित्रता अझ सुदृढ बनाउने तथा जीवनभर सम्झनलायक सुन्दर स्मृतिहरू सिर्जना गर्ने उत्कृष्ट अवसर प्रदान गर्‍यो। यस भ्रमणले बाघेता समाज यूकेको मूल आधार रहेका एकता, आपसी सम्मान, आत्मीयता तथा सामुदायिक भावनालाई अझ बलियो बनाएको छ। यस अद्भुत अनुभवलाई स्मरण गर्दै, हामी आगामी बाघेता समाज यूके गिरिष्मकालिन भ्रमण २०२७ लाई अझ बढी उत्साहका साथ पर्खिरहेका छौँ। आगामी भ्रमण अझ रमाइलो, अझ सफल र अझ स्मरणीय हुने विश्वास व्यक्त गर्दछौँ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!