लन्डन – बेलायतमा तेस्रोपटक हुन लागेको किताब जात्राको तयारी पुरा भएको आयोजक किताब यात्रा फाउन्डेसनले जनाएको छ।
यही अगस्ट २१ तारिख शुक्रबार नेपाली दूतावास लन्डनमा हुने कार्यक्रममा प्यानल बहस, रचना वाचन, अवार्ड वितरण तथा किताब प्रदर्शनी सहित उत्सव मनाइने छ ।
किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीका अनुसार युकेको नेपाली साहित्य, संस्कृति, जीवनशैली तथा व्यावसायिक संसारलाई सम्बोधन गर्ने गरी झन्डै चार घन्टा लामो कार्यक्रमको तयारी गरिएको छ ।
‘युकेमा रहेका नेपाली लेखकहरू, संस्कृतिकर्मी तथा उद्यमीहरूलाई किताब जात्रामा सहभागी हुन आह्वान गर्दछौं,’ अधिकारीले भने।
जात्रामा सहभागी हुन वरिष्ठ पत्रकार टीकाराम यात्री, लेखक रवीन्द्र समीरलगायत नेपालबाट युके आइसकेका छन् । किताब जात्रा दिउँसो २ बजे देखि सुरु हुने आयोजकले जनाएका छन्।
वि सं २०७५ मा नेपालमा सुरु भएको किताब जात्रा, भारत र अमेरिकामा पनि सम्पन्न भइसकेको छ । युकेमा सन् २०२३ मा पहिलोपटक किताब जात्रा आयोजना गरिएको थियो ।





