लन्डन । धम्पुस परिवार यूकेले यही २९ अगस्टमा वार्षिक भेटघाट कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ।
बेलायतमा रहेका धम्पुसेहरूबीच आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम शनिबार, २९ अगस्ट २०२६ का दिन फार्नबरोस्थित स्यामुयल कोडी स्पोर्ट कलेजमा दिउँसो १ बजेदेखि राति ९:३० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
यस वर्षको कार्यक्रममा नेपालबाट बेलायत सांगीतिक यात्रामा आएकी चर्चित गायिका प्रिया गुरुङ र लोकदोहोरी गायिका सर्मिला गुरुङ (सरु)ले सांगीतिक धमाका मच्चाउने तयारिमा छन् । दुवै कलाकारको प्रस्तुतिसँगै मौलिक सांस्कृतिक कार्यक्रमले सहभागीलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बधाई तथा सम्मान, आकर्षक राफल ड्र तथा विभिन्न उमेर समूहलाई लक्षित मनोरञ्जनात्मक गतिविधिसमेत राखिएको छ। आयोजकले पारिवारिक वातावरणमा आपसी भेटघाट, आत्मीयता र मनोरञ्जनमार्फत कार्यक्रमलाई विशेष तथा स्मरणीय बनाउने तयारी गरेको जनाएको छ।
धम्पुस परिवार यूकेले बेलायतमा रहेका सम्पूर्ण धम्पुसे बुबाआमा, दाजुभाइ, दिदीबहिनी, छोरी–ज्वाइँ, भान्जाभान्जी तथा इष्टमित्रलाई सपरिवार उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रममा सहभागिताका लागि सबैको गरिमामय उपस्थितिले वार्षिक भेटघाटलाई थप भव्य र अविस्मरणीय बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ । धम्पुस परिवार यूकेका अध्यक्ष धन गुरुङले बेलायतमा रहेका सम्पूर्ण धम्पुसे आमाबुवा, दाजुभाइ, दिदीबहिनी, ज्वाइँसाहेब, भान्जाभान्जी, छोराछोरी तथा इष्टमित्रलाई स–परिवार कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेका छन् ।






