चिम्खोले काईला – बेलायत।
ब्रिटिस गोर्खा ब्रिगेडका पूर्वसैनिक मेजर हितमान गुरुङलाई बेलायतका राजा चार्ल्स तृतीयले मानार्थ मेम्बर अप ब्रिटिश एम्पाएर (एमबिइ) पदकद्वारा सम्मान गरिबक्सेको छ।
मेजर गुरुङले गोर्खा भूतपूर्व सैनिक र उनीहरूका परिवारको सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै संयुक्त अधिराज्य बेलायतका राजाले सम्मान गरिवक्सेको हो।
मेजर गुरुङ सन् १९७३ सालमा नेपालको पक्लिहवामा ब्रिटिश आर्मीमा आवद्ध भई हंगकंगको सेकोङस्थित मलाया लाइन्समा आधारभूत तालिम लिनुभएको थियो । ब्रिटिश आर्मीको आधारभूत तालिम पुरा गरे पश्च्यात १/२ गोर्खा राइफल्स (जिआर)मा आवद्ध हुनुभएको थियो । मेजर गुरुङले २००२ सम्म १/२ जिआर र फस्ट बटालियन द रोयल गोर्खा राइफल्स (१ आरजीआर) सेवा गर्नुभएको थियो भने आफ्नो सैन्य कार्यकालमा बिभिन्न पदहरुमा रहेर विश्वभरका विभिन्न अपरेशनहरूमा भाग लिनुभएको थियो। अन्त्यमा ब्रिटिश गोर्खा नेपाल तथा गोर्खा मेजर पोखराको पदभार सम्हाले पश्च्यात सेवानिवृत हुनुभएको थियो।
सेवानिवृत्त भएपश्चात पनि गुरुङले नेपालमा गोर्खा भूतपूर्व सैनिक र उनीहरूको परिवारलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँले नेपालमा स्वैच्छिक रूपमा नयाँ रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनको स्थापना र नेतृत्व गर्नुभयो, जसले ब्रिटिस आर्मीको प्रतिष्ठा संरक्षण तथा प्रवर्द्धन गर्न र यूके र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न योगदान पुराउनु भएको छ।
नेपालस्थित ब्रिटिस दूतावासका रक्षा सहचारी डान रेक्सले गुरुङले दुई दशकसम्म स्वेच्छाले गोर्खा परिवारहरूलाई, विशेष गरी अफगानिस्तानको लडाइँमा आफन्त गुमाएका परिवारहरूलाई सहयोग गर्नुभएको बताउनु भएको छ ।
रेक्सले गुरुङलाई बृहत् गोर्खा समुदायको लागि एक अटल सहयोगीको रूपमा वर्णन गरे र उहाँको नम्रता, निस्वार्थता र अरूप्रति समर्पणको प्रशंसा गर्दै, उहाँको कामले गोर्खा परिवारहरूबीचको सम्बन्धलाई बलियो बनाएको र नेपाल तथा संयुक्त अधिराज्यबीचको सम्बन्धको गतिलो उदाहरण बनेको बताउनु भएको छ ।






