लन्डन । उत्तरपूर्वी इंग्ल्यान्डमा शनिबार गलत दिशाबाट आइरहेको कारले प्रहरीको गाडीलाई ठक्कर दिँदा दुई प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको छ ।
क्लिभल्यान्ड प्रहरीकाअनुसार मिडल्सब्रोको पूर्वमा पर्ने साउथ बैंक क्षेत्रमा शनिबार बिहान ३:३९ बजे दुर्घटना भएको हो । दुर्घटनामा दुवै सवारीसाधनमा सवार सबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘क्लिभल्यान्डका लागि यो अत्यन्तै दुःखद दिन हो,’ क्लिभल्यान्ड प्रहरी प्रमुख भिक्टोरिया फुलरले भनिन् । प्रहरीले अर्को कार भोक्सवागन पासाटमा सवार व्यक्तिहरूको औपचारिक पहिचान गरिसकेको र उनीहरूका परिवारसँग सम्पर्क गरिरहेको जनाएको छ ।
फुलरले मृत्यु भएका दुई प्रहरी अधिकारीको नाम प्रहरी कन्स्टेबल म्याथ्यु ब्लेड्स (३७) र टम क्लफ (३८) रहेको बताइन् । उनले उनीहरूलाई ‘साहसी प्रहरी अधिकारी’ भन्दै ड्युटी सकेर परिवारकहाँ फर्किन नपाएको बताइन् ।
प्रधानमन्त्री एन्डी बर्नहमले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । यस्ता घटनामा हुने नियमित प्रक्रियाअनुसार बेलायतको इन्डिपेन्डेन्ट अफिस फर पुलिस कन्डक्टले दुर्घटनाको समीक्षा गर्नेछ ।






