थानेश्वर पाण्डेय
कार्डिफ । यूकेमा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरुले भोग्नुपरेका समस्याहरु पहिचान गर्न र त्यसको समाधानका लागि प्रयास गर्ने उद्देश्यका साथ वेल्सको कार्डिफमा २२ अगस्ट २०२६ मा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युनिभर्सिटी अफ साउथ वेल्सको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाली विद्यार्थीले भोग्नु परेका समस्या र त्यसको समाधानका विषयमा स्थानीय नेपाली सामुदायिक संस्था, विद्यार्थी, प्राध्यापक र सामाजिक अगुवाहरुले छलफल गरेका थिए । छलफलमा सहभागीहरुले नेपाली विद्यार्थीहरुले भोग्नु परेका आवासीय, शैक्षिक, मनोसामाजिक र सांस्कृतिक समस्यालगायतका सवालहरुमा छलफल गरिएको थियो । वेल्स क्षेत्रमा नेपाली विद्यार्थीहरूबाट समयसमयमा विभिन्न खाले समस्याहरूका गुनासो बढ्दै गएपछि त्यसको समाधानका लागि साझा पहल गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई युनिभर्सिटी अफ साउथ वेल्सका प्राध्यापक माइकल ब्राउनले स्वागत मन्तव्य राखेका थिए । विषय विज्ञका रुपमा ब्रिटेन नेपाल सोसाइटीका प्रमुख निक हिन्टन, मर्जिङ्ग नेपसोकका पवन कँडेल, युनिकार्पका डा. रविन्द्र न्यौपाने, गैरआवासीय नेपाली संघ, वेल्सका डा.विकास रानाभाट, धर्म सांस्कृतिक अभियानका अध्यक्ष डा. थानेश्वर पाण्डेय, सामाजिक अगुवा रामचन्द्र पोखरेल, युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका पुष्पराज पन्त र युनिभर्सिटी अफ साउथ वेल्सका विष्णुबहादुर खत्रीले बेलायतमा नेपाली विद्यार्थीहरुका साझा समस्याहरु, ती समस्याहरुको सम्वोधनका लागि भएगरेका प्रयासहरु, उपलब्ध सेवाहरु र भविष्यमा गर्नुपर्ने तथा गर्न सकिने कामहरुका सम्वन्धमा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न सामुदायिक संस्था र नेपाली सामाजिक अगुवाहरुको सक्रिय सहभागिता रहेको थियो । अन्तरक्रियात्मक छलफलमा समाजसेवी तथा नेपाली समाजका अगुवाहरू शोभा राणा पोख्रेल, डा.अमर मल्ल, रविन पौडेल, प्रकाश विष्ट, विभुषण श्रेष्ठ, बलराम अधिकारी, भोजराज रेग्मी, सूर्य ढकाल, कमल सिंह साउद, महेन्द्र तामाङ्ग, प्रतिक रिमाल, सविना थापा, मनिश गैरे, अश्मिता सापकोटा, प्रकाश विष्ट, निर्मल बेडीलगायतले सक्रिय रुपमा सहभागिता जनाएका थिए ।
गैरआवासीय नेपाली संघ, वेल्स, नेपाली समाज वेल्स, धर्म सांस्कृतिक अभियान यूके, नेपाली पण्डित संघ यूके, इन्टरनेशनल नेप्लीज आर्टिस्ट सोसाइटी, वेल्स लगायतका नेपाली सामुदायिक संस्थाहरुले कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्थानीय समाजसेवी शोभा राणा पोख्रेलले धन्यवाद दिएका थिए ।
अन्तरक्रियापश्चात् भेलाले विद्यार्थीका यावत समस्या पहिचान र समाधानका लागि युनिभर्सिटी अफ साउथ वेल्सका पिएडी स्कलर विष्णुबहादुर खत्रीको संयोजकत्वमा नेपाली स्टुडेन्ट वेलफेयर सोसाइटी, वेल्सको समन्वय कमिटी निर्माण गरेको छ । कमिटीमा विभिन्न नेपाली सामुदायिक संस्थाहरु तथा वेल्सका युनिभर्सिटीहरुमा रहेका नेपालीहरुको प्रतिनिधित्व रहेको छ । जसमा डा. विकाश रानाभाट, शोभा राणा पोख्रेल, सूर्य ढकाल, रविन पौडेल, कमल सिंह साउद, दिक्षा लोहनी, महेन्द्र तामाङ, रोहित मिश्र रहेका छन् । छलफलले प्राध्यापक माइकल ब्राउन, निक हिन्टन, डा.रविन्द्र न्यौपाने, डा. थानेश्वर पाण्डेय, डा. पुष्पराज पन्त, पवन कँडेल, बलराम अधिकारी, डा. अमर मल्ल लगायतमा अग्रज व्यक्तित्वहरु रहेको सल्लाहकार समिति चयन गरेको छ । समन्वय तथा सल्लाहकार कमिटीमा आवश्यकता अनुसार सदस्यहरु थप गर्दै लगिने बताइएको छ ।
नेपाली स्टुडेन्ट वेलफेयर सोसाइटी, वेल्सले आगामी दिनमा नेपाली विद्यार्थीहरुको बृहत्तर हितलाई ध्यानमा राखी नेपाली विद्यार्थीहरुमाझ भेटघाट, अन्तरक्रिया, परामर्श, अरिरिक्त क्रियाकलापलगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्नुका साथै कार्डिफमा नेपाली विद्यार्थीहरुका लागि एकिकृत सेवा प्रदान गर्न स्टुडेन्ट वेलफेयर क्लिनिक पनि संचालन गर्ने कार्ययोजना रहेको छ । सोसाइटीले नेपाली विद्यार्थीहरुका साझा समस्याहरुको सम्बोधनका लागि नेपाल र बेलायत दुबै सरकारलाई अनुसन्धानमा आधारित लिखित नीतिगत सुझावहरु पेश गर्ने समेत कार्यक्रम रहेको यस बहुसरोकारवाला छलफलका समन्वयकर्ता विष्णु खत्रीले बताएका छन् ।






