पूर्ण गुरुङ
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले विदेशमा रहेका नेपालीहरुको ‘वंशजको नागरिकता निरन्तरता’ सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मिचेटस्थित तमु धीं यूकेको भवनमा आइतबार आयोजित कार्यक्रममा विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरतासँग सम्बन्धित पछिल्ला कानुनी तथा नीतिगत समस्याबारे छलफल गरिएको हो ।
अन्तरक्रियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडा, क्याम्पियन फर नेपाल सिटीजनशिप कोंटीनुएशन फर ब्रिटिश गोरखा (सीएनसीबीजी) का अध्यक्ष थर्क राना र अधिवक्ता गोविन्द बेल्वासे अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा सीएनसीबीजीका अध्यक्ष थर्क रानाले भूतपूर्व गोर्खाहरू नियमसंगत रूपमा बेलायतको सेनामा भर्ती भएर सेवा गरेको उल्लेख गर्दै उनीहरूले वंशजको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने धारणा राखे ।
त्यस्तै, एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले वंशजको नागरिकता निरन्तरताका लागि एनआरएनएले आवश्यक पहल गरिरहेको बताए । त्यसैको आंशिक उपलब्धिका रूपमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था आएको भए पनि राहदानीसहितको नेपाली नागरिकता अर्थात् वंशजको नागरिकताको निरन्तरता नै आपूmहरुको अन्तिम माग रहेको उनले स्पष्ट पारे ।
अधिवक्ता गोविन्द बेल्वासेले नेपालको संविधान तथा विद्यमान नागरिकता ऐनका व्यवस्थाबारे जानकारी गराउँदै नागरिकता ऐन, २०६३ को दफा १० को उपदफा (१) हटाउन सके वंशजको नेपाली नागरिकताले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले यस विषयमा संविधानमा समेत आवश्यक संशोधन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ यूकेको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।
अन्तरक्रियाको अन्त्यमा नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेनेले सहभागी अतिथि तथा उपस्थित सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेका पदाधिकारी तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। अन्तरक्रियाको सहजीकरण तथा प्रस्तोता रूपमा महासंघकी उपाध्यक्ष प्रमिला लाबुङ राई र महासचिव खेमराज रानाभाटले भूमिका निर्वाह गरेका थिए ।






