नेपालको बाढी विपद्को लागि पोखरेली मञ्च यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग

SHARE:

बिक्रम भट्टराइ – बेलायत।

बुधवार २७ अगस्ट २०२६ – नेपालमा हालैको प्राकृतिक विपद्ले निम्त्याएको भयावह अवस्था र ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पोखरेली मञ्च यूकेले पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच लाख नेपाली रुपैयाँ सहयोग गरेको छ।

अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत विभिन्न क्षेत्रमा जनजीवन अस्तव्यस्त बन्नुका साथै बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। यसै गम्भीरतालाई मध्यनजर गर्दै मञ्चको कार्यसमिति तथा ट्रस्टीहरूको बुधबार (२६ अगस्ट) बसेको आकस्मिक भर्चुअल बैठकले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आज बिहीबार (२७ अगस्ट २०२६) बेलायतस्थित मेट्रो बैंकमार्फत २,४५० पाउण्ड (£२,४५०) अन्तर्राष्ट्रिय बैंक ट्रान्सफर गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सिधै रकम पठाइएको मञ्चले जनाएको छ।

मञ्चका पदाधिकारीहरूको भनाइ
“हामीले यो सहयोगलाई ठूलो रकमका रूपमा नभई विपद्को घडीमा मातृभूमिप्रतिको जिम्मेवारी र पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रतिको ऐक्यबद्धताको सानो प्रयासका रूपमा लिएका छौँ भनेर पोखरेली मञ्च यूकेका महासचिव, बिक्रम भट्टराई भनेका छन्।

मंचका अध्यक्ष पवित्रा गुरुङले यस्तो विपत्तिको समयमा सानो–ठूलो भन्ने हुँदैन। हामी जहाँ रहे पनि मातृभूमिमा परेको पीडामा सकेको सहयोग गर्नु हाम्रो साझा मानवीय दायित्व हो। बेलायतमा रहेका सम्पूर्ण नेपाली संघ–संस्था तथा शुभेच्छुकहरूलाई यथासम्भव सहयोगका लागि अगाडि आउन हामी विनम्र अनुरोध गर्दछौं भनेका छन् ।”

त्यस्तै, मञ्चका पूर्वअध्यक्ष तथा ट्रस्टी करम गुरुङले विगतदेखि नै बेलायतमा सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिमा सक्रिय रहँदै आएको यस संस्थाले नेपालमा आइपर्ने मानवीय संकटका बेला मातृभूमिसँगको सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएको बताएका छन्।

श्रद्धाञ्जली र अपिल
मञ्चले विपद्को यस कठिन घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घरबारविहीन तथा प्रभावित नागरिकहरूले यथाशीघ्र आवश्यक राहत र सुरक्षित आश्रय पाऊन् भन्ने अपेक्षा गरिएको छ।

यससँगै, मञ्चले बेलायतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, परोपकारी संस्था, व्यवसायी, पेशाकर्मी तथा आम नेपाली समुदायलाई समेत आ-आफ्नो क्षमताले भ्याएअनुसार विपद् प्रभावित नागरिकहरूको राहतका लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!