बेलायत – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग जुटाउने उद्देश्यले जुममार्फत पत्रकार सम्मेलन सम्पन्न गरेको छ।
पत्रकार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का (आइसीसी) अध्यक्ष डा. हेमराज शर्मा, संघका पदाधिकारीहरू, एनआरएन युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, कार्यसमिति सदस्यहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष डा. हेमराज शर्माले संस्थाले पहिलो चरणको राहत सामग्री वितरण गरिसकेको जानकारी दिँदै नेपाल सरकारको बाढीपीडित राहत कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए। उनले सरकारले एकद्वार प्रणाली लागू गरेका कारण उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुपर्ने स्पष्ट पारे।
त्यस्तै, एनआरएन युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बेलायतबाट १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बेलायतमा स्थापित विभिन्न संघसंस्थालाई राहत रकम एनआरएन युकेमार्फत मात्र संकलन गरिदिन आग्रह गरेका छन्।
अध्यक्ष पुडासैनीले राहत संकलन तथा सहकार्यका लागि बेलायतस्थित विभिन्न संघसंस्थालाई सोमबार ३१ अगस्ट २०२६ का दिन बेलुकी ८ बजे जुम बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्। साथै, बाढीमा ज्यान गुमाएका नेपालीहरूको स्मृतिको लागि मंगलबार १ सेप्टेम्बर २०२६ का दिन बेलुकी ६ देखि ७ बजेसम्म नेपाली राजदूतावास लन्डनमा आयोजित श्रद्धाञ्जली तथा शोकसभामा सहभागिताका लागि पनि उनले आह्वान गरेका छन्।
अध्यक्षद्वय डा. शर्मा र पुडासैनीले देश शोकमा डुबेको यस बेला सानो सहयोगले पनि ठूलो राहत पुग्ने बताएका छन्। प्रभावित परिवार र समुदायलाई अति आवश्यक राहत सामग्री पुर्याउन सबै नेपालीहरू एकताबद्ध भई सहकार्य गर्नुपर्ने उनीहरूको भनाइ थियो।
उद्धार र राहत कार्यमा यथासक्य आर्थिक सहयोग गर्न उनीहरूले बेलायतवासी नेपालीहरूलाई विनम्र अनुरोध गरेका छन्। प्राप्त हुने हरेक सहयोग अर्थपूर्ण हुने जनाउँदै इच्छुक महानुभावहरूले सहयोगका लागि गोफन्डमी (GoFundMe) को लिङ्क प्रयोग गर्न सक्नेछन्।
एनआरएन युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले अध्यक्षता गरेको बैठकको प्रमुख अतिथि एनआरएनए आइसीसीका अध्यक्ष डा. हेमराज शर्मा थिए भने प्रवक्ता श्याम लुइँटेलले बैठक संचालन गरेका थिए।








