सेती–मादी डाँडा गाउँले समाज यूकेको दशैँ उत्सव भव्य रूपमा सम्पन्न

SHARE:

राज श्रेष्ठ,

लन्डन (रेडिङ) । सेती–मादी डाँडा गाउँले समाज यूकेको दशैँ उत्सव भव्य रूपमा सम्पन्न भएको छ। गत ३ अक्टोबर २०२६ मा बेलायतको रेडिङस्थित तमु प्ये ल्हु सङ्घको भवनमा आयोजित उत्सवमा नर्दन आयरल्यान्डसहित बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने समाजका करिब १५० सदस्य सहभागी भएका थिए।

गण्डकी क्षेत्रका सेती र मादी नदी आसपासका कास्की, तनहुँ तथा लमजुङ जिल्लाका गाउँलेहरूबीच प्रवासमा आपसी सद्भाव, एकता र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सन् २००८ मा समाज स्थापना भएको हो।

मेजर लोकबहादुर गुरुङको परिकल्पनामा डा. रूपक श्रेष्ठ, मेजर रुद्र खड्का, डा. सुरेन्द्र श्रेष्ठ, रुद्र गुरुङ, खर्क गुरुङ, रामराज मल्ल, बबिन गुरुङ, भोगेन्द्र गुरुङ, खेम गुरुङ र प्रेम गुरुङ सम्मिलित समितिले समाज स्थापना गरेको थियो। समाजका संस्थापक अध्यक्ष क्याप्टेन धनवीर गुरुङ थिए। त्यसपछि डा. रूपक श्रेष्ठ, रामराज मल्ल, टेकसिंह गुरुङ, रुद्रबहादुर गुरुङ, पूर्णवीर गुरुङ र तेजबहादुर गुरुङले क्रमशः अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। सन् २०२४ देखि हस्तबहादुर गुरुङले समाजको नेतृत्व गर्दै आएका छन्।

नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा समाजका अध्यक्ष हस्तबहादुर गुरुङ र संस्थापक मेजर लोकबहादुर गुरुङले पानसमा दीप प्रज्वलन गरी उत्सवको उद्घाटन गरेका थिए।

समाजका उपाध्यक्ष राज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबैलाई बडादशैँ तथा तिहारको शुभकामना दिए। यस वर्ष दिवङ्गत भएका समाजका सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गरे। साथै, दशैँ–तिहार मनाउन नेपाल जाने गाउँलेहरूलाई प्रतिकूल मौसम र यात्राका क्रममा हुन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरे।

शुभकामना मन्तव्यका क्रममा संस्थापक मेजर लोकबहादुर गुरुङले समाजको स्थापना, नामकरण, पहिचान र महत्त्वबारे प्रकाश पारे। समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार रामराज मल्लले स्थापनाकालदेखि हालसम्म समाजले सञ्चालन गरेका गतिविधि, सामाजिक सेवा र हासिल गरेका उपलब्धिबारे चर्चा गरे।

स्वास्थ्य शिविरबाट ७० जनाले लिए सेवा

यस वर्षको दशैँ उत्सवको प्रमुख आकर्षण स्वास्थ्य शिविर रह्यो। समाजका सल्लाहकार डा. रूपक श्रेष्ठको संयोजनमा आयोजित शिविरमा समाजकै स्वास्थ्यकर्मी डा. प्राप्ति गुरुङ, डा. आश्विनी गुरुङ र फिजिसियन एसोसिएट श्रद्धा श्रेष्ठले स्वयंसेवकका रूपमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए।

शिविरबाट करिब ७० जना बुवा–आमा तथा दाजुभाइले स्वास्थ्य परीक्षण सेवा लिएका थिए। बेलायतमा सरकारी स्वास्थ्य सेवा उपलब्ध भए पनि उपचारका लागि लामो समय कुर्नुपर्ने र भाषागत कठिनाइका कारण कतिपय ज्येष्ठ नागरिकलाई चिकित्सकसमक्ष आफ्ना स्वास्थ्य समस्या स्पष्ट रूपमा राख्न कठिनाइ हुने गरेको सहभागीहरूले अनुभव सुनाएका थिए।

समाजले आयोजना गरेको स्वास्थ्य शिविर उपयोगी र सराहनीय रहेको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए।

समाजप्रतिको सेवा र योगदानको कदर गर्दै स्वयंसेवक स्वास्थ्यकर्मी डा. प्राप्ति गुरुङ, डा. आश्विनी गुरुङ र फिजिसियन एसोसिएट श्रद्धा श्रेष्ठलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। उक्त मायाको चिनो समाजका सदस्य रुबी श्रेष्ठ र कञ्चन श्रेष्ठले प्रायोजन गरेका थिए।

बेलायतको डर्बिशायरमा श्रेष्ठ दम्पतीद्वारा सञ्चालित ‘द डेकोर बग’ (The Decor Bug) कम्पनीले विवाह तथा विभिन्न उत्सवका लागि सजावट र साइनेजसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्यकर्मीहरूको सम्मानका लागि मायाको चिनो प्रायोजन गरी सहयोग पुर्‍याएकोमा श्रेष्ठ दम्पतीलाई खादा ओढाएर सम्मान गरिएको थियो।

ज्येष्ठ नागरिक तथा युवालाई सम्मान

कार्यक्रममा समाजका ज्येष्ठ नागरिक ८३ वर्षीय प्रेमबहादुर गुरुङलाई सम्मान गरिएको थियो। भिर्चोक चिसापानी स्थायी घर भएका गुरुङ हाल बेलायतको रेडिङमा बसोबास गर्दै आएका छन्।

त्यसैगरी, उच्च शिक्षा हासिल गरेका युवा कञ्चन गुरुङ र कल्पना गुरुङ तथा वैवाहिक जीवनमा प्रवेश गरेका अन्जिता मल्ल र धनराज शाहीलाई खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

नेपालबाट बेलायत आएकी लोकगायिका शर्मिला गुरुङ ‘सरु’लाई पनि समाजका तर्फबाट खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। शर्मिलाको सुमधुर स्वर र लोकगायनले कार्यक्रममा थप रौनक थपेको थियो। प्रस्तुतिले उपस्थित गाउँलेहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली लोकसंस्कृतिप्रतिको आत्मीयता अभिवृद्धि गरेको थियो।

कार्यक्रममा समाजका कोषाध्यक्ष कोषबहादुर गुरुङले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भेलाले उक्त प्रतिवेदन अनुमोदन गरेको थियो।

कार्यक्रमको समापनमा समाजका अध्यक्ष हस्तबहादुर गुरुङले उपस्थित सम्पूर्ण बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आभार व्यक्त गरे। उत्सव सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा सहयोगीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको औपचारिक समापन गरे।

कार्यक्रमको सञ्चालन रामराज मल्लकी सुपुत्री अन्जिता मल्लले गरेकी थिइन्।

समाजको यस वर्षको दशैँ उत्सवले प्रवासमा नेपाली चाडपर्व, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै गाउँलेहरूबीचको आत्मीयता, आपसी सहयोग र सामाजिक एकतालाई थप सुदृढ बनाएको छ। स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक सम्मान तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न उत्सवले समाजको सामाजिक उत्तरदायित्व र सामुदायिक सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!