छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स-२०२६ आगामी डिसेम्बर ४ र ५ मा जनकपुरधाममा हुने

SHARE:

लन्डन । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र संजाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक शहर जनकपुरधाममा आयोजना हुने भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेश प्रदेशस्थित स्थानीय निकायहरु एवं अन्य संघसंस्थाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना सम्मेलन आयोजना गर्न लगिएको हो। सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ र मूल सन्देश नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने रहेको छ। सम्मेलनमा नेपाली स्वास्थ्यकर्मीहरुको विदेश पलायनलाई मानव स्रोतको क्षतिका रूपमा मात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन, लगानी र स्वास्थ्य प्रणाली सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने विषयमा छलफल गरिने छ ।

सम्मेलनबारे जानकारी दिन बुधबार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६’ आयोजक समितिका अध्यक्ष प्रा. डा. सुनील साहले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्दै विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फिर्ता गर्ने उपयुक्त वातावरण बनाएर नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउनेबारे सम्मेलनमा छलफल गरिने जनाए । उनले सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नगरी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने प्रयास गरिनुका साथै भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबीच साझेदारी, मेन्टरसिप कार्यक्रम, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने विषयलाई पनि अघि बढाइने जनाए ।

यसैगरी ग्लोबल हेल्थ कन्फरेन्स वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा. डा. पदम सिम्खडाले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञ र नेपालको स्वास्थ्य क्षेत्रबीच दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा व्यक्त गरे । उनले सम्मेलनमा प्रख्यात जनस्वास्थ्यविद् प्रा जेनी ह्यारिस लगायत ५० जनाभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरु सहभागी हुने पुष्टि भइसकेको जनाए । उनले मधेश प्रदेशका कतिपय स्वास्थ्य सूचकहरु पूरै देशको तुलनामा न्यून रहेकाले तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे पनि सम्मेलनमा छलफल गरिने जनाए ।

वैज्ञानिक समितिका सहअध्यक्ष तथा युनिभर्सिटी अफ हडर्सफिल्डमा जनस्वास्थ्य विषयका एसोसियट प्राध्यापक डा राजीवकुमार साहले मधेशको लागि, जन्मभूमिको लागि के गर्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा. डा. अङ्कुर शाहले सम्मेलनले मधेश प्रदेश र जनकपुर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरे ।

एनआरएनएका अध्यक्ष डा हेमराज शर्माले संघले विश्व ज्ञान सम्मेलन तथा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेर संसारभरि रहेका नेपाली विज्ञहरुसँग रहेको ज्ञान, सीप र सञ्जाल नेपाल र नेपालीको हितमा उपयोग गर्ने प्रयास गरिरहेको बताए । उनले यस सम्मेलनले विश्वभर फैलिएको नेपाली स्वास्थ्य जनशक्तिको ज्ञान, सीप, अनुभव र स्रोतलाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोड्न सके नेपालमा थप सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा पनि व्यक्त गरे । अध्यक्ष शर्माले संघले आगामी जनवरी २०२७ मा काठमाडौँमा विश्व ज्ञान सम्मेलन, विश्व महिला सम्मेलन तथा एनआरएन दोश्रो पुस्ता सहभागी सम्मेलन आयोजना गर्न लागेकाले सबैलाई भाग लिन आमन्त्रण गरे ।

एनआरएनएका उपाध्यक्ष डा ज्ञानेन्द्र रेग्मीले धन्यवाद ज्ञापन गर्दै नेपालमा ज्ञान आदानप्रदान गर्न विश्व स्वास्थ्य सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे । त्यस्तै एनआरएनए आईसीसीकी सचिव प्रसुना कँडेलले नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीको मेरुदण्ड हुने भएकाले उनीहरुको सीप विकास र निरन्तर पेशागत उन्नतिका बारेमा पनि सम्मेलनमा छलफल गरिने जनाए ।

सम्मेलनमा सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार, निजी क्षेत्र तथा विश्वभर रहेका नेपाली स्वास्थ्यकर्मीहरूसमेत झन्डै ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपालका चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता तथा अन्य स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिले विदेशमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। सम्मेलनले विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञहरूको सीप र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्ने उद्देश्य राखेको छ।

यसैगरी विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई नेपालको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबीच सहकार्य स्थापना गर्ने, चिकित्सा शिक्षा, फेलोसिप, विशेषज्ञ तालिम तथा भिजिटिङ फ्याकल्टी कार्यक्रम विस्तार गर्ने, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउने र डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकता दिइनेछ।

त्यस्तै, विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मी तथा लगानीकर्तालाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने तथा मधेश प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ। सम्मेलनले वैदेशिक पलायनलाई उल्ट्याउने तथा डायस्पोरा संलग्नताका व्यावहारिक उपाय विकास गर्दै विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दीर्घकालीन राष्ट्रिय ढाँचा निर्माण गर्ने लक्ष्य लिएको छ।

सम्मेलनका लागि जनकपुरधाम छनोट हुनु पनि महत्त्वपूर्ण मानिएको छ। मधेश प्रदेशको राजधानी तथा महत्त्वपूर्ण सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुरधामबाट स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौंकेन्द्रित सीमाबाट बाहिर विस्तार गर्दै प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने विश्वास लिइएको छ।

सम्मेलनको प्रमुख अपेक्षित उपलब्धिमध्ये ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६’ जारी गर्ने तयारी पनि रहेको छ। उक्त घोषणाले सरकार, विश्वविद्यालय, स्वास्थ्य संस्था, विकास साझेदार तथा विश्वभर रहेका नेपाली स्वास्थ्य समुदायबीच आगामी दिनमा सहकार्यका लागि एउटा साझा ढाँचा प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान, डिजिटल स्वास्थ्य, मेन्टरसिप, स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा निरन्तर सहकार्यका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य पनि सम्मेलनले राखेको छ।
एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालमा पहिलो पटक हुनलागेको हो। यस अघि पहिलो एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स एटलान्टा (अमेरिका) मा, तेश्रो लन्डन, चौथो सिड्नी र पाँचौं टोक्योमा भएको थियो। कोभिड १९ महामारीका कारण दोश्रो विश्व सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!