बेलायत – ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) ले नेपालका बाढीपीडितहरूको सहयोगार्थ सङ्कलित रकमको चेक लन्डनस्थित नेपाली राजदूतावासमा हस्तान्तरण गर्ने भएको छ।
संस्थाका अध्यक्ष लिला सेलिङ माबोका अनुसार सङ्कलित कुल £१३,५६५.०९ (लगभग रु २७ लाख ६० हजार) दुई चरण गरी लन्डनस्थित नेपाली राजदूतावासको बैङ्क खातामा जम्मा गरिसकिएको छ।
उक्त सहयोग रकमको औपचारिक चेक हस्तान्तरणका लागि राजदूतावासले जिआरएनसीका अध्यक्षसहित प्रतिनिधिमण्डललाई आउँदो शुक्रबार, २३ अक्टोबर २०२६ का दिन बिहान ११:०० बजे राजदूतावासको कार्यालय (12A Kensington Palace Gardens, W8 4QU) मा आमन्त्रण गरेको छ।
अध्यक्ष माबोले यो कार्यक्रम दूतावासका पदाधिकारीहरूसँग भेटघाट गरी बाढीपहिरोको पछिल्लो वस्तुस्थितिबारे छलफल गर्ने र सम्पूर्ण दाताहरूका लागि प्रमाण प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ।
हस्तान्तरण कार्यक्रममा जिआरएनसीका तर्फबाट करिब १० जनाको सहभागिता रहने भएकाले इच्छुक सदस्यहरूलाई यथाशीघ्र आफ्नो नाम दर्ता गराउनसमेत अध्यक्ष माबोले अनुरोध गर्नुभएको छ।






