लन्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १७औँ संस्करण आज ३० अगस्टमा हुँदैछ ।
तमु धीं यूकेको आयोजनामा लन्डनको केम्पटन पार्क रेसकोर्समा मेला हुन लागेको हो । नेपाली दूतावास लन्डनको सहकार्यमा हुने मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाले आफ्नो मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्परा झल्काउने झाँकी र नृत्य प्रस्तुत गर्नेछन्। बिहान १० देखि बेलुका ८ बजेसम्म मेला सञ्चालन हुनेछ ।
मेलाका संयोजक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आयोजना हुने मेलामा बेलायतस्थित ४२ नेपाली संघसंस्थाको सहभागिता रहनेछ। यस वर्ष ४२ संस्थाले झाँकी प्रस्तुत गर्नेछन्। झाँकी र नृत्य दुवै विधामा ९ संस्था तथा नृत्य विधामा मात्र १० संस्थाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, झाँकी तथा नृत्यमा सहभागी हुने तर प्रतिस्पर्धामा भाग नलिने संस्थाको संख्या ६ रहेको आयोजकले जनाएको छ।
संयोजक गुरुङका अनुसार मेलाको उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गर्नेछन्। कार्यक्रममा अन्य नेपाली तथा विदेशी कूटनीतिक प्रतिनिधिको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।
यस वर्ष झाँकी तथा नृत्य प्रतियोगिताको प्रमुख पुरस्कार ‘एम्बासडर कप’को राशि वृद्धि गरिएको छ। गत वर्ष १,१०० पाउन्ड रहेको पुरस्कार यस वर्ष बढाएर १,५०० पाउन्ड पुर्याइएको छ। प्रथम र द्वितीय रनरअपले क्रमशः ७०० र ५०० पाउन्ड प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ। त्यस्तै, एनआरएनए कपको पुरस्कार राशि पनि ३०० पाउन्डबाट बढाएर ८०० पाउन्ड पुर्याइएको छ।
मेलामा नेपाली खाना, पोशाक, मौलिक सामग्री तथा विभिन्न व्यापार, सेवा र च्यारिटीका गरी करिब ७५ वटा स्टल रहनेछन्। स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउन हेल्थ क्याम्पसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
यस वर्षको मेलाबाट बचत रकम भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको मेलाका संयोजक एवम् उपाध्यक्ष कमल गुरुङले जानकारी दिएका छन् । उनले मेलालाई सामूहिक रुपमा शोकलाई शक्तिमा बदल्ने हिसाबले मनाउने तयारी भएको बताए ।
अध्यक्ष जुमकाजी गुरुङले बेलायतवासी सम्पूर्ण नेपालीलाई मेलामा सहभागी हुन पुन: अपिल गरेका छन् ।






