बेलायत — नेपालमा हालै गएको बाढीका पीडितहरूको सहयोगार्थ बेलायतको स्विन्डनस्थित ब्रोडग्रिन कम्युनिटी सेन्टरमा गत शुक्रबार, ४ सेप्टेम्बर २०२६ का दिन “नेपाली म्युजिकल नाइट २०२६” भव्य रूपमा सम्पन्न भएको आयोजक समितिका सदस्य अनिता रानामगरले जानकारी दिनुभएको छ।
संगीतमय मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्व र परोपकारी भावनासहित आयोजित सो कार्यक्रममा नेपालका चर्चित कलाकारहरू— ‘द भ्वाइस अफ नेपाल सिजन ७’ की विजेता निता थापा मगर र ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का उपविजेता रोशन राईले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
झलम राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आयोजक समितिका सदस्य अनिता रानामगरले बाढीपीडितहरू, दुवै कलाकारहरू (निता थापा मगर र रोशन राई) बारे प्रकाश पार्दै स्वागत मन्तव्य दिनुभएको थियो। त्यस्तै, मगर महिला संघ स्विन्डन शाखाकी अध्यक्ष सरस्वती थापा मगरले कलाकारहरूलाई सम्मान गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रम यमुना आलेले संचालन गरेका थिए ।
कार्यक्रममा नेपाली समाज स्विन्डनका अध्यक्ष रञ्जन मल्ल, गोर्खा नेपाली समाज स्विन्डनका अध्यक्ष रामकुमार राई, किरात राई यायोक्खाकी अध्यक्ष कल्पना राई, मगर संघ युके स्विन्डन शाखाका अध्यक्ष अशोक बुढाथोकीलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।





