लन्डन । एभरेष्ट आर्चरी क्लब यूकेको अध्यक्षमा बिल पुर्जा पुन मगर चयन भएका छन् ।
शनिबार ५ सेप्टेम्बरमा बेलायतको फार्नबोरोस्थित कोडी बोमेन स्पोर्ट्स एन्ड सोसियल क्लबमा सम्पन्न क्लबको पाँचौँ अधिवेशनले बिल पुर्जाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा याम शेरचन, सचिवमा हर्क पाइजा, सहसचिवमा आकाश गौचन, कोषाध्यक्षमा ओम पुन र सहकोषाध्यक्षमा ली पुर्जा चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा बाघवीर पुन, विकास हिराचन र तेजिन लामा चयन भएका छन्।
अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्न बेल बुढाथोकीको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिका सदस्यहरूमा दुर्गा छन्त्याल र पदम बुढा रहेका थिए।
एभरेष्ट आर्चरी क्लब यूकेले बेलायतमा नेपाली समुदायबीच आर्चरी खेलको विकास, खेलाडी उत्पादन तथा खेलप्रतिको आकर्षण बढाउन विभिन्न गतिविधि गर्दै आएको छ। नयाँ कार्यसमितिले क्लबको संस्थागत विकाससँगै नेपाली आर्चरी खेलाडीहरूलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।











