स्विन्डन । विश्व नेपाली साहित्य महासंघ यूके पश्चिम शाखाको अध्यक्षमा गोमा राना चयन भएकी छन्। स्विन्डनस्थित द टनर रेस्टुरेन्टमा ५ सेप्टेम्बर २०२६ मा सम्पन्न शाखाको दोस्रो अधिवेशनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। राना यसअघि शाखाको वरिष्ठ उपाध्यक्ष थिइन्।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ति लिम्बु, उपाध्यक्षमा जीत बुढाथोकी, सचिवमा गंगा भण्डारी र कोषाध्यक्षमा राजेन्द्र राई चयन भएका छन्। सदस्यहरूमा हेम राई, कमला गुरुङ, रोजी राई, प्रिन्स राई, अन्जान किरात र होमा लिम्बू चयन भएका छन्। शाखाको संरक्षकमा डा. सुमाया राई रहेकी छन्।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाका साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई थप सशक्त बनाउँदै बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यसमिति चयनका लागि विश्वासदीप तिगेलाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिले निर्वाचन प्रक्रिया सञ्चालन गरी नयाँ कार्यसमितिको घोषणा गरेको हो।
अधिवेशनको पहिलो सत्र शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षता, मुलिबीर राईको प्रमुख आतिथ्यता तथा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेलाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

अधिवेशनमा कार्यसमितिको कार्यप्रगति तथा विगतका निर्णयहरूको समीक्षा गरिएको थियो। साथै, वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको थियो।
सोही अवसरमा डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’, शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ तथा सेमन्त राईको ‘अँधेरीमा जून’ पुस्तकको सामूहिक विमोचन गरिएको थियो।
विमोचित कृतिमाथि क्रमशः नरेश काम्बाङ राई, विश्वासदीप तिगेला र मुकेश राईले समीक्षा गरेका थिए। समीक्षापछि तीनै लेखकले आफ्ना कृतिबारे मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन सचिव जीत बुढाथोकी र गंगा भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष गोमा रानाले राखेकी थिइन्। कार्यक्रममा सहभागी केही साहित्यकारले आफ्ना साहित्यिक रचना समेत वाचन गरेका थिए।
कार्यक्रममा शाखाकी संरक्षक डा. सुमाया राई, मगर संघ यूकेका उपाध्यक्ष विष्णु श्रीस मगर, किरात राई यायोक्खा स्विन्डन शाखाका अध्यक्ष कल्पना राई, रघु भण्डारी, होम किरात सुनुवार, सुनीता राई, तयाहाङ्ना राई, सीमा राई, झेलम राई, मनु पाईजा, रुद्र पाईजा, रिता राई, भोला विक्रम राईलगायतको उपस्थिति रहेको थियो।






