महेन्द्र आले – बेलायत।
तनहुँ समाज यूकेले नेपालमा १० भदौमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
समाजले संकलन गरेको १० लाख १ सय ९५ रुपैयाँ बराबरको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरेकी हुन् ।
चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्का बेला सहयोगका लागि अघि सरेकोमा तनहुँ समाज यूकेका सदस्यहरूप्रति आभार व्यक्त गरे ।
समाजका अध्यक्ष सन्त गुरुङले मातृभूमि अप्ठ्यारोमा परेका बेला प्रवासमा रहेका नेपालीले आफ्नो दायित्व सम्झेर सहयोग गरेको बताए ।
समाजले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विस्थापित तथा प्रभावित परिवारप्रति पनि समाजले सहानुभूति व्यक्त गरेको छ ।
समाजका महासचिव महेन्द्र आलेका अनुसार बेलायतमा रहेका तनहुँवासी तथा शुभेच्छुकबाट रकम संकलन गरी नेपालमा विपद् प्रभावितका लागि सहयोग गरिएको हो ।








