लन्डन । तमु समाज यूकेले आफ्नो १९औँ स्थापना दिवस तथा २०औँ वर्ष प्रवेश समारोह आयोजना गर्ने भएको छ।
सन् २००७ मा स्थापना भएको तमु समाज यूकेले १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष समारोह आयोजना गर्न लागेको हो। संस्थाले समारोहमा सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका प्रतिनिधिहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो एकता’ भन्ने मूल नारासहित आयोजना हुने समारोह शनिबार, ३ अक्टोबर २०२६ मा हुनेछ। कार्यक्रम साँझ ५ बजेदेखि तमु समाज यूकेको सामुदायिक भवन, नेप्लिज कम्युनिटी सेन्टरमा आयोजना हुने जनाइएको छ।
तमु समाज यूकेले स्थापना दिवसका अवसरमा सदस्य तथा शुभेच्छुकहरूबीच आपसी भेटघाट, संस्थाको योगदानको स्मरण तथा आगामी दिनका गतिविधिबारे समेत छलफल गर्ने जनाएको छ।
यस्तो छ तमु समाज युकेको इतिहास
मूलतः बेलायती सैन्य सेवामा आबद्ध, अवकाश प्राप्त र केही गैर सैनिक बेलायतवासी तमु बन्धुहरुको सामूहिक प्रयासबाट तमु समाज युकेको जन्म भएको हो । ३० सेप्टेम्बर २००७ मा तमु धीं युके लन्डन शाखाको रूपमा जन्मिएको यो संस्था अहिले बेलायतको च्यारिटी कमिसनमा दर्ता भएर तमु समाज युके बनेको छ ।
सन् २००४ मा भूतपूर्व गोर्खाहरूले बेलायतमा आवासीय अधिकार पाउन सुरु भएपश्चात् तमु समुदायका मानिसहरू गाउँ छाडेर बेलायत जाने क्रम बढ्यो । तमुहरूको बसाई बढ्दै जाँदा आवश्यकता र समस्याहरू पनि बढ्दै गए । बसाइँको परिवेश फेरिन सक्छ । भूगोल फेरिन सक्छ । दृश्यहरू फेरिन सक्छन् तर जाति, भाषा, धर्म, संस्कार, संस्कृति कहिल्यै फेरिँदैन । यही ध्रुव सत्य तथ्य बेलायतमा बसाई सरेका तमु समुदायमा पनि देख्न सकिन्छ । बसाई बेलायतको भए पनि आफ्नो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र चालचलन जस्ता विषयवस्तुले मौलिक आधारमै निरन्तरता पायो । जन्मदेखि मृत्युसम्मका संस्कारले गाउँ घरमा जस्तै बेलायतमा पनि स्थान पायो । बाक्लो हुँदै गएको तमु समुदायको बसाइका कारण उत्पन्न समस्याको समाधान खोज्ने क्रममा यी सबै विषयहरूको व्यवस्थापन हुन सकेको हो । खास गरी सामूहिकतामा विश्वास राख्ने तमु समुदायका सबै पक्षको व्यवस्थापनका लागि औपचारिक संस्थाको खाँचो पर्छ । यस्तै खाँचो, तमु धीं, लन्डन शाखा युके जन्माउने त्यस बेलाका केही कर्मठ व्यक्तित्वहरूमा महसुस भयो । यसैको फलस्वरूप अहिले तमु समाज युकेको संस्थागत अस्तित्व हामी सबैमाझ कायम छ ।
समुदाय र संस्कृति भन्ने विषय नङ र मासु जस्तै एकापसबाट छुट्टिन नसक्ने विषय बस्तु हुन् । यही सत्यमा व्यक्तिको पहिचान अडिएको हुन्छ । जन्मदेखि मृत्युसम्म गरिने संस्कारजन्य कार्यक्रमहरू मात्र हैन, विभिन्न चाड पर्वका बेला पनि सामूहिकताको महत्त्व सिद्ध हुन्छ। तमु समाज युकेले पनि यस्तै सामूहिकताको सिद्धान्तलाई आत्मसाथ गर्दै आफ्ना गतिविधिहरू अनवरत रूपमा अगाडी बढाउँदै आएको छ।
सन् २०१२ जुलाई ७ मा सम्पन्न संस्थाको वार्षिक साधारणसभाले गरेको निर्णयसँगै १० डिसेम्बर २०१२ मा तमु समाज युके बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको हो। तमु धीं लन्डन शाखा युकेबाट तमु समाज युकेमा परिवर्तन भएको संस्था अहिले सामाजिक सेवामा पूर्ण समर्पित रहेको छ। तमु मात्र हैन, बेलायती भूमिमा बसोबास गर्ने अन्य जात जातिमा परेको दुख कष्टमा पनि तमु समाज युकेले सहयोगी हात फैलाउँदै आएको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि, स्वर्ग भन्दा पनि महान् हुन्छ। यो भावनालाई तमु समाज युकेले आत्मसाथ गर्दै आएको छ। मातृभूमि नेपाललाई सेती बाढीले बगाएको बेला होस या भूकम्पले तहसनहस पारेको बेला नै किन नहोस्, हरेक खाले प्राकृतिक विपत्तिमा तमु समाज युकेले आवश्यकता अनुसारको सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। २०७२ सालको विनाशकारी महाभूकम्पको समयमा यस समाजले लन्डनको सडक सडकमा आर्थिक सङ्कलन गरेर गोर्खा, कास्की र लमजुङ जिल्लाका भूकम्प पीडितहरूलाई झन्डै १५ लाख रुपैयाँको राहात उपलब्ध गरेको थियो। यसै गरी भूकम्पपछिको पुनर्निर्माणमा धादिङ जिल्लामा १७ लाखको लागतमा विद्यालय भवन निर्माण गरी सहयोग गरेको छ। यसरी विगत दस वर्षको सेवा अवधिमा यस समाजले समग्रमा परोपकारको क्षेत्रमा लगभग एक करोड भन्दा बढी आर्थिक सहयोग गरी सकेको छ।
समाजले तमु ल्होछार, ट्होंटे पर्व, भाषा प्रशिक्षण कक्षा, रोजगारीका निम्ति वृत्ति विकासका कक्षाहरू तथा विविध समसामयिक विषयहरूमा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।यसको अतिरिक्त तमु समाज युकेले विभिन्न आयमूलक च्यारिटी कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। श्रीपञ्चमीका दिन सुरु गरी वैशाख पूर्णिमाका दिन समापन गरिने घाँटु नृत्यले पनि तमु समुदायमा विशेष सांस्कृतिक महत्त्व राख्छ । यो सन्दर्भ पनि तमु समाज युकेको प्राथमिकतामा पर्दै आएको छ। जसको फलस्वरूप अनुकूल समयमा बाह्रमासे घाँटु नृत्यको प्रस्तुति र प्रदर्शनी समाजको सक्रियतामा गर्दै आएको छ। यस संस्थाले विगतमा रारा काप फुटबल प्रतियोगिता, अन्तर समाज नेपाली लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ।
समुदाय जहाँ बस्छ, त्यसले आफू अनुकूलको वातावरण आफै तयार पार्छ तर संयोजन र व्यवस्थापनको पाटो मिलाउन अति जरुरी हुन्छ। तमु समाज युकेले यस्तै खाले अभिभावकीय भूमिका पुरा गरेको छ। नेपालका गाउँ घरमा गुञ्जयमान हुने लोक गीत सङ्गीतले बेलायती भूमिमा पनि प्राथमिकता पाउनु यही अभिभावकीय भूमिकाको प्रतिफल हो। बेलायती भूमिका अलावा मातृभूमि नेपालका विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा पनि तमु समाज युकेको सक्रियता जारी छ। हरेक वर्षको पौष १५ मा मनाइने तमु ल्होछारका अवसरमा तमु धीं नेपालले गर्दै आएको सडक दौड प्रतियोगितालाई आर्थिक रूपमा सघाउन पोखरामा एक लाख पचास हजार रुपैयाँको अक्षय कोष स्थापना गरेको छ। स्वदेशमा बेलाबखत हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापहरूमा समेत समाजले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। समाज सेवा लगायतका विभिन्न कल्याणकारी उद्देश्यसहित आफ्नै स्वतन्त्र छविका साथ स्थापना भएको भए पनि विभिन्न सङ्घ संस्थाहरु सँगको संस्थागत सद्भावलाई सकारात्मक स्तरमा कायम राखी रहन तमु समाज युके हर सम्भव प्रयत्नरत रहेको छ।
सामुदायिक अभियानको नेतृत्व र पहल केही सक्रिय व्यक्तित्वहरूले लिने भए पनि पुरै समुदायको सहयोग र सद्भाव बिना केही हुँदैन। यही तथ्यलाई मनन गर्दै तमु समाज युकेका सबै सदस्यहरू सक्रियतापूर्वक समाजका कार्यक्रमहरूमा सहभागी हुँदै आएको पाइन्छ। समाजको विकासमा आमा समूह र युवा समूहको सक्रियता र सहभागिताको महत्त्वपूर्ण भूमिका रहेको छ। समय र परिस्थितिको चाल अनुसार जन्मभूमि भन्दा टाढिनु परे पनि आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा तथा आपसी भाइचारालाई सजीव बनाई राख्न सफल देखिएको छ तमु समाज युके र यसमा आबद्ध सबै सदस्यहरू। बेलायतमा बसोबास गर्ने तमु तथा नेपाली समुदाय बेलायती रहन सहनमा भिज्नु पर्ने बाध्यता छ। त्यो भन्दा अझै ठुलो बाध्यता हो, आफ्नो पनलाई जोगाई राख्नु। यो विषय निकै गम्भीर र कठिन पनि छ। यसको एक मात्र विकल्प भनेकै सामूहिक र सामुदायिक पहल हो। बेलायतमा नेपालीहरूले बेलायती जीवन पद्धतिमा अन्तर घुलन तथा समाहित हुनुको साथसाथै आफ्नो मौलिक नेपाली कला र संस्कृतिलाई सदा जोगाई राख्न र भावी पुस्तामा यसको हस्तान्तरण गर्नु पर्ने महत्त्वपूर्ण जिम्मेवारी प्रत्येक सङ्घ संस्थाको रहेको छ। यस कार्यमा तमु समाज युके निरन्तर रूपमा लागिरहेको छ।
सन २००७ स्थापना भई बेलायतको च्यारिटि कमिसनमा २०१२मा वैधानिक रुपमा दर्ता भएको गैर नाफामूलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दु:ख र सुखमा साथ दिंदै आएको छ। बिपत्तिका बेला अर्थिक अभावका कारण कठिनाइ भोगिरहेका र कष्टकार जीवन बिताइरहेका स्वदेशका थुप्रै ब्यक्तिहरुलाई यस संस्थाले सकेको सहयोग गरेको छ। तमु समाज युकेको सामाजिक सकृयता र बिगत १० बर्षमा यसले हाँसिल गरेका उपलब्धिहरु गर्ब गर्न लायक छन्। यस समाजले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीको जगेर्न गर्न तमुहरुको महान पर्व तमु ल्होछार लगायत नेपाली नयाँबर्ष तथा अन्य नेपाली चाडपर्वहरुमा तिज, बैषाख पुर्णिमा तथा बुद्ध जयन्ती र तिहारलाई ठुलो महत्व र भब्यताकासाथ मनाउँदै आएको छ, जसले गर्दा प्रवासमा हाम्रा भावि पुस्तालाई आफ्नो मात्रृ भूमि एबं भाषा, संस्कार, संस्कृति र परंम्परा सधै स्नेह र श्रद्दाको आधार तथा प्रेरणाको स्रोत बन्न सकोस भन्ने तमु समाज युकेको चाहाना रहेको छ।
यस समाज आफ्नो नेपाली तथा तमु पहिचानको जगेर्न गर्दै स्वदेश तथा प्रवासमा बिभिन्न संस्कृतिक, सामाजिक तथा परोपकारि कार्यहरु गर्दै, संयुक्त अधिराज्यमा बेलायती रहनसहन र जीवन पद्धतिमा अन्तरघुलन तथा समाहित हुँदै, लण्डनको स्थानिय बेलायतीहरुको मान पनि जितेको छ। फलस्वरुप तमु समाज युकेले लण्डन बरो अफ ब्रेन्ट काउन्सिल बाट कम्युनिटि एसेट ट्रन्फर योजना अन्तर्गत एक समुदायिक भवन प्राप्त गर्न सफल भएका छ।
सम्भवत: स्थानीय सरकारबाट नेपाली समाजिक संस्थाले लण्डनमा यसरी सामुदायिक भवन प्राप्त गरेको यो पहिलो हो। लन्डनको अति महत्त्वपूर्ण स्थान वेम्बली सडबरिमा अवस्थित रहेको उक्त भवन लाई तमु समाज युकेले सुबिधा सम्पन्न रिनोभेसन निर्माण कार्य पुरा गरी तमु समाज युके नेपलीज कम्युनिटी सेन्टर नामकरणसहित ब्रेन्ट काउन्सिल लिडरको हातबाट समुदघाटन गरेर पूर्ण रुपमा सामुदयिक प्रयोगमा ल्याएको छ। यसको अतिरिक्त तमु समाज युकेले लण्डनमा आफ्नै किसिमको नेपाली तथा तमु पहिचान बोकेको केही सामाजिक संम्रचनाहरु होस भन्ने चाहान्छ र एक बहुउद्देशीय तमु समाजिक भवन होस भन्ने पनि चाहन्छ।
यसकारण तमु समाज युकेले बेलायतको राजधानी लण्डनमा आफ्नो एक सामाजिक भवन निर्माण गर्ने महत्त्वकांक्षी परियोजनामा केही वर्षदेखि निरन्तर लागिरहेको छ र यसको निम्ति समाजका सदस्यहरु तथा अन्य सहयोगी दाताहरुबाट एक लाख पाउन्डभन्दा बढी आर्थिक संकलन गरिसकेको पनि छ।
संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको नेतृत्वकालमा स्थापना भएको यो संस्थाले पूर्वअध्यक्ष शिवशरण गुरुङको नेतृत्वकालमा बेलायती च्यरिटि कमिसनमा बिधिवत दर्ता भई निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङको कार्यकालमा स्थानीय सरकारबाट सामाजिक भवन प्राप्त गरी संस्थाको दशौं वार्षिकउत्सव भव्यताको साथ मनाएको थियो । मई २०१८ देखि शिवचन्द्र गुरुङ, शिवकुमार गुरुङ र वर्तमान अध्यक् विन्दु कुमारी घले गुरुङको नेतृत्वमा हर प्रकारका परोपकारी तथा सामाजिक कार्यहरु गर्न निरन्तर लागिरहेको छ ।






